
क्लबहाउस, एक वर्षभन्दा कम समयमा क्लबहाउस इन्टरनेटको नयाँ ठूलो सेवा बन्ने बाटोमा छ। क्लबहाउसले ठूलो चर्चा, चर्चित प्रयोगकर्ताहरू, विवाद, प्रतिबन्ध र एक पैसा नकमाए पनि ठूलो मूल्याङ्कन पाइसकेको छ।
यो के होला भनेर सोच्दै हुनुहुन्छ भने यसका बारेमा जान्नै पर्ने कुराहरू यस्ता छन्।
अमेरिकादेखि चीनसम्म र ब्रजिलदेखि टर्कीसम्म यसले विश्वभर हल्ला मच्चाएको छ। संसारमा जहाँ भए पनि तपाईँले यसको नाम छिटै सुन्नु हुनेछ।
संसारका केही धनी र चर्चितहरू यस एपमा अहिले ठूला नाम बनिसकेका छन्। तीमध्ये केही टेस्लाका इलोन मस्क, फेसबुकका मार्क जुकरबर्ग, गायक ड्रेक र कान्य वेस्ट एवम् सञ्चारकर्मी ओप्राह विन्फ्रे रहेका छन्।
यसको चर्चासँगै पैसाको पनि चर्चा छ। यसलाई यूके फाइनान्सियल टाइम्सका अनुसार अहिल्यै एक अर्ब अमेरिकी डलरभन्दा माथि मूल्याङ्कन गरिसकिएको छ।
क्लबहाउसलाई अरूभन्दा फरक बनाउने कुरा भनेको यसमा अक्षर, तस्बिर वा भिडिओ राख्न नमिल्नु हो। यो आवाज मात्रै भएको एप हो। र यसमा जे हुन्छ त्यो सबै प्रत्यक्ष हुन्छ।
तपाईँ यसमा आफ्नो गफ गर्ने कोठा सुरु गर्न सक्नुहुन्छ वा अरूले सुरु गरेको कोठामा प्रवेश गरेर त्यहाँको गफ सुन्न सक्नुहुन्छ।
सामान्यतया प्रत्येक कोठामा केही वक्ता हुन्छन् र अरू सबै श्रोता हुन्छन् तर तपाईँ हात उठाएर बोल्न अनुमति माग्न सक्नुहुन्छ।
एपभित्र गफ रेकर्ड हुँदैन र सकिएपछि पुनः सुन्न सकिन्न त्यसैले जे सुन्नु छ त्यो प्रत्यक्ष सुन्नुपर्छ।
मन पर्ने गफ नछुटोस् भन्नका लागि कुनै विषयलाई फलो गर्न सक्नुहुन्छ र त्यो विषयमा गफ सुरु भए तपाईँलाई जानकारी आउँछ।
आवाज मात्रै भएको हुँदा यसले रेडिओ वा पडकास्ट सुनेको अनुभव दिन्छ।
इलोन मस्कको विचारमा यसले प्रत्येक १० सेकेन्डमा नयाँ कुरा आएर दिमागलाई एउटा विषयमा केन्द्रित हुन नदिने सामाजिक सञ्जालको चलनबाट पनि मुक्ति दिन्छ।
सामान्यतया यो साथीभाइबीच गफगाफ गर्न प्रयोग गरिने भए पनि मस्कजस्ता चर्चित व्यक्तित्वहरू भएका कारण तपाईँले एउटै कोठामा बसे जस्तो गरी उनीहरूलाई प्रत्यक्ष र अनौपचारिक गफ गरिरहेको सुन्न पनि सक्नुहुन्छ।
क्लबहाउसमा प्रयोगकर्ता बन्न क्लबहाउसको प्रयोगकर्ता कसैले निमन्त्रणा दिनुपर्छ। त्यसैले तपाईँले डाउनलोड गरेपछि कसैको निम्तोको प्रतीक्षा गर्नुपर्छ। क्लबहाउसका प्रत्येक प्रयोगकर्ताले सुरुमा दुई जनालाई निम्तो दिन सक्छन्।
तर यसको अर्थ तपाईँले पाउनै हुन्न भन्ने होइन।फेसबुकमा अहिले डेढ अर्ब प्रयोगकर्ता छन् तर जब यो सुरु भयो त्यति बेला अमेरिकाका नाम चलेका केही विश्वविद्यालयका केही हजार मात्रै यसमा पहुँच राख्थे। कुनै बेला जीमेल पनि निम्तोबाट मात्रै खोल्न मिल्थ्यो।