
काठमाडौं । विगत दुई महिनादेखि गाडीका शोरुम सुनसान छन् । गाडी किन्ने मानिस शोरुममा कार छनोट गर्न जानै छाडेका छन् । यसको मुख्य कारण बजारमा भएको लगानी योग्य रकमको अभाव र मानिसको आम्दानीमा आएको शंकुचन हो ।
मानिसको आम्दानीसँग जोडिएको गाडीको विक्री घट्न थालेसँगै आयातकर्ता कम्पनीहरु निरास बनेका छन् । सन् २०२१ मा निकै राम्रो रहेको अटोमोबाइलको ब्यापार २०२२ को सुरुवातदेखि नै मन्दीमा गएको हो । यद्यपि अहिले पनि नगद रकम तिरेर गाडी किन्ने मानिसहरु फाट्टफुट्ट शोरुम पुग्ने गरेका छन् ।
अहिलेकै अवस्थामा कर्जा प्रबाह गर्न सक्ने अवस्था नरहेको बैंक तथा वितिय संस्थाका कार्यकारीहरुको भनाई छ ।
‘अहिले बैंकसँग लगानी गर्ने रकमकै अभाव छ । कुनैपनि क्षेत्रमा सहजै कर्जा दिन सक्ने अवस्था नहुँदा गाडी किन्नेले कर्जा पाउने अवस्था रहँदैन । गाडीमा सहजकर्जा दिन बजारमा तरलता बढ्नुको विकल्प छैन’, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने ।
कोइरालाका अनुसार असारको अझै २० दिन बाँकी रहेको र त्यति बेला बजारबाट पैसा उठ्ने हो भने साउनबाट केही सहज अवस्था आउन सक्छ । तर, अहिलेकै अवस्था विश्लेषण गर्दा सहज हुने देखिदैन ।
बैंकमा आउने ग्राहकलाई सेवा दिन नपाएकोमा बैंकहरु खिन्न छन् भने गाडी विक्री गर्न शोरुम खोलेर बसेका ब्यवसायी निकै निरास भेटिन्छन् । विशेष गरेर आधिकारीक विक्रेताहरुले बनाएको डिलरहरु अहिलेको अवस्था अत्यासलाग्दो रहेको अनुमान गर्न सकिन्छ ।
गाडी डिलर लिएर ब्यवसाय गर्दै आएका कैलाशबाबु गेलाल स्टक, ब्याज, कर्मचारी खर्च, शोरुम भाडा जस्ता ब्यवसाय टिकाउन चाहिने रकम जोहो गर्न धौ धौ पर्ने अवस्था आएको बताउँदै भन्छन्, ‘सरोकारवाला निकायले समस्या समाधानमा कुनै पनि ठोस काम गर्न सकेन । त्यसको मारमा हाम्रो ब्यवसाय पर्यो ।’
गाडी आयातमा रहेका विभिन्न कम्पनीको समस्याको विषयमा नाडाको फोर ह्वीलर कमिटिले पनि छलफल गरेको सभापति निराकार श्रेष्ठले बताए ।
‘हामीले अहिलेको अवस्था, मौद्रिक स्थिति, सवारी साधनको स्टक लगायतका विषयमा आयातकर्ताहरुसँग छलफल गरेका छौं । सबैले समस्या धेरै देख्नु भएको छ । हामी कसरी व्यवसाय टिकाउने भन्ने चुनौतीसँग जुधिरहेका छौं’, सभापति श्रेष्ठले भने ।
गाडीको आयात रोकिनु, कर्जा उपलब्ध नहुँनु र शोरुममा गाडी किन्न चाहने मानिसको उपस्थिति पनि शून्य प्रायः भएसँगै सबै डराउने अवस्था आएको देखिन्छ । यसका बाबजुद पनि आफ्नो व्यवसाय टिकाउनु पर्ने दवाव सबै ब्राण्डलाई परिरहेको छ ।
असारपछिको अवस्था पनि सहज नभएको बताउँदै महिन्द्राको आधिकारीक वितरक अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, ‘अवस्था थप नाजुक बन्ने देखिन्छ । असार मसान्तमा पनि सरकारी ढुकुटीमा नै पैसा जम्मा हुने हो । बजारमा पैसा नभएसम्म ब्यापार टिकाउन मुस्किल पर्छ ।’
अहिलेको अवस्था आयातकर्ता, विक्रेता र क्रेता सबैलाई अत्याउने किसिमको देखिन्छ । यो सबै समस्याको मुख्य कारण गाडी किन्ने मानिसको आम्दानी बढ्न नसक्नु र कर्जा लिन चाहने मानिसले कर्जा पनि नपाउनु हो ।
‘अवस्था भयावह भएको देखिन्छ । बजारमा तरलता सहज बनाउन ठोस काम कुनैपनि निकायले नगर्दा लगानी योग्य रकमको अभाव थप लम्बिने अवस्था देखिएको छ । यसले ब्यवसायमा नै समस्या देखिने अवस्था आयो’, नाडाका उपाध्यक्ष तथा टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङका सीइओ राजनबाबु श्रेष्ठले भने ।
अहिलेको अवस्थामा बैंक तथा वित्तिय संस्थाको पनि सबैभन्दा सुरक्षित मध्येको एक कर्जा रहेको अटोमोवाइल क्षेत्र तरलता सहजताको प्रतिक्षामा बस्नुको विकल्प देखिदैन ।