
काठमाडौं । एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो ।
२४ वर्षसम्मको अवधिमा बैंकले देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल भएको छ । बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ ।
यो अवधिमा बैंकले सेयरधनीलाई अप्टिमम् वेल्थ म्याक्सिमाईजेशन गरी लगानीमा उच्चतम प्रतिफल वितरण गर्न सकेको बैंकको दावी छ । सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो ।
त्यसैगरी बैंकले स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न सफल भएको छ ।
बैंकले कोभिड १९ बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ । कर्जा तथा निक्षेप वृद्धिमा बैंकले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको कम्पनीको दावी छ ।
आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ ।
२४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । यो सुविधा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् ।
हाल डिजिटल फर्ष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जाने बैंकले बताएको छ । बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाईफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको समेत बताएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ ।
बैककाे व्यवस्थापन र सञ्चालक समितकाे अथक प्रयास र मिहिनतले बैंक याे अवस्थामा पुगेकाे बैंककाे भनाई छ । हाल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) राेशन कुमार न्याैपाने र बैंककाे अध्यक्षमा तुल्सीराम अग्रवाल छन् ।


