
विराटनगर — ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुद इतिहासमा योगदान गरेका १ सय ८७ खेलाडीलाई प्रदेश १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ ।
सम्मानित हुनेमा ओलम्पिकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी भएका १ सय ४१ जना खेलाडी छन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कदरपत्र प्रदान गरेका थिए ।
मुलुकको खेलकुद इतिहासमा ओलम्पिकमा अहिलेसम्म सहभागितामा मात्र सिमित रहँदा एसियाली खेलकुदमा दुई रजत र २२ कांस्य मुलुकले हात पारेको छ । त्यसैगरी दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म १ सय २४ स्वर्ण, १ सय ८६ रजत र ३ सय ८० कांस्यसहित जम्मा ६ सय ९० पदक मुलुकले जितेको इतिहास छ ।
सम्मानित खेलाडीलाई पाँच वर्षसम्म क्याविन सुविधासहितको सम्पूर्ण उपचार नि:शुल्क र तिनका परिवारका सदस्यलाई ५० प्रतिशत छुटमा स्वास्थ्य उपचारको व्यवस्था पनि खेलकुद बोर्डले गरेको छ । त्यसका लागि नोवेल शिक्षण अस्पतालका सञ्चालक इन्दिरा बराल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट र खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेबीच आइतबार त्रिपक्षीय सम्झौता भएको छ ।
प्रदेश १ खेलकुद विकास बोर्डले खेलकुद इतिहासको गरिमा बोकेका खेलाडीलाई सम्मान र पाँच वर्षसम्म नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेर राम्रो कामको सुरुआत गरेको सम्मानपछि नेपाली फुटबल टिमका पूर्वकप्तान राजुकाजी शाक्यको प्रतिक्रिया थियो । यसलाई अझ व्यवस्थित गरेर निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
राज्यले खेलाडीलाई सम्मान मात्र नभएर आर्थिक पक्षमा पनि सहयोग गर्नुपर्ने १२ एसियाली खेलकी पदक विजेता सीता राईको माग थियो । खेलाडीहरू खेल्न छाडेपछि आर्थिक अभावमा मजदुरीका लागि विदेशिनु परेको बाध्यता रहेको उनको गुनासो थियो । नपाली भलिबलका कुशल खेलाडी दिपक सापकोटाले प्रदेश सरकारले लामो समयपछि सम्मानका नाममा पुराना साथीसँग भेट गर्ने अवसर सिर्जना गरेकोमा खुसी व्याक्त गरे ।
प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव वाग्लेले प्रदेश खेलकुद बोर्डले अब खेलाडीको सम्मान गर्दै नि:शुल्क स्वास्थ्य उपचारको सुरुवात गरेको बताए । यसलाई निरन्तरता दिँदै आगामी दिनमा खेलाडीको आर्थिक पक्षलाई पनि ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्ने बताए ।
प्रदेशका मुख्यमन्त्री राईले प्रदेश १ लाई खेलकुदको हब बनाउन सरकार लगानी गर्न तयार रहेको बताए । साथै खेलकुद विकास बोर्डलाई बलियो बनाएर आगामी दिनमा खेलाडीको सम्मानलाई निरन्तरता दिन प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि खेलकुदमा १२ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जव कि विकास बोर्डले ६५ करोड ५० लाख बजेट माग गरेको थियो ।