
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। यी कम्पनीहरुको कुल २० लाख कित्ताभन्दा धेरै सेयर सूचीकृत भएको हो।
नेप्सेका अनुसार, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र समिट लघुवित्त वित्तीय संस्थाको कुल २० लाख २ हजार ९७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यसमा जनउत्थान लघुवित्तको २ लाख ९५ हजार ८१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत पुस ३० गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर बितरण गरेको हो।
यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको पनि ७ लाख १० हजार १६२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव गत वैशाख २१ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित गरेको हो। इन्स्योरेन्सको चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ७ करोड १० लाख १६ हजार २६४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको हो।
समिट लघुवित्तको पनि नेप्सेमा मंगलबार ९ लाख ९७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत पुस २४ गते सम्पन्न गरेको १३औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५.२८५३ प्रतिशतले हुन आउने ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दास्रो बजारमा कारोबार गर्न सकिनेछ।
कति पुग्यो बोनस सूचीकरणपछि सेयर आपूर्ति
बोनस सेयर थपिएपछि एभरेष्ट इन्स्योरेन्सको सूचीकृत सेयर एक करोड २५ लाख ४६ हजार २०७ कित्ता पुगेको छ। यस कम्पनीको अन्तिम कारोबार मूल्यका आधारमा हाल बजार मूल्य प्रतिकित्ता ५०० रुपैयाँ थियो। युनाइटेड इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीको सेयर कारोबार हाल दास्रो बजारमा रोक्का छ।
यस्तै, बोनस सेयर थपिएसँगै समीट लघुवित्तको सूचीकृत सेयर पनि ३९ लाख ४३ हजार कित्ताबाट बढेर ४९ लाख ४० हजार कित्ताबाट पुगेको छ। कम्पनीको सेयर कारोबार हाल दास्रो बजारमा प्रतिकित्ता ८०० रुपैयाँमा भइरहेको छ।
सूचीकृत बोनस सेयरपछि जनउत्थान लघुवित्तको दोस्रो बजारमा कुल सेयर संख्या ११ लाख ८३ हजार २४८ कित्ताबाट १४ लाख ७९ हजार ६० कित्ता पुगेको छ। यस कम्पनीको पछिल्लो कारोबार मूल्य प्रतिकित्ता एक हजार ६९२ रुपैयाँ रहेको छ।