
थानकोटस्थित त्रिभुवन पार्कको खुला कटेरो । माथिल्लो तलामा कालो म्याट विछ्याइएको छ तर ओढ्ने लुगा छैन । पानी नछिरोस् भनेर एउटा त्रिपालले माथिल्लो भाग बार्ने प्रयास गरिएको छ, तर तीनतिरकै भाग ह्वाङ्गै छ ।
‘राति पानी पसेर सुत्नै पाइएन । हावाले पनि हान्दो रहेछ । बडो समस्यामा परियो’, त्यही कटेरोमा रात बिताएका सल्यानका बेलबहादुर बुढाथोकीले दुःख बिसाए, ‘ओछ्याउने त भयो तर, ओढ्ने छैन । ज्याकेटले पनि नधान्ने रहेछ ।’
पैदल हिँडेर घरतर्फ जान लागेका उनीजस्तै १ सय ७६ जनालाई थानकोटमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पैदल हिँडेर जान नदिनू । जहाँ छन्, त्यही बस्ने खाने व्यवस्था मिलाउनू’ निर्देशन दिएपछि पैदल हिँडेर गाउँ फर्किन खोजेका उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चन्द्रागिरि कमिटीले रोकेर राखेको हो ।
तर हरेक रात पानीमा रुझ्दै बिताउन बाध्य छन् उनीहरु । ‘बरु पैदल हिँड्दा सहज थियो’, दोलखाको शैलुङ गाउँपालिकादेखि हिँडेर काठमाडौं आइपुगेका बुढाथोकीले अनलाइनखबरसँग सुनाए, ‘यतिवेला गाउँ पनि पुगिन्थ्यो होला । यहाँ चिसोले मात्र होइन, किरा र मच्छडले टोकेर हैरान पारिसक्यो ।’
आफूसहित १४ जना बसेको कटेरोमा सद्धे मान्छे बसे पनि बिरामी हुने अवस्था आएको बुढाथोकीले गुनासो गरे ।
‘यस्तै पाराले त कति दिन बस्न सकिएला र !’ बुढाथोकीसँगै आएका अर्का एक जनाले लामो सुस्केरा हाले ।
पैदल हिँडेर आइतबार बिहान ५ बजेतिर थानकोट पुग्दा ड्यूटीमा खटिएका प्रहरीले गाडीमा पठाइदिन्छन् भनेर पार्कतिर जान सुझाएको उनी सम्झन्छन् । ‘अरु साथीहरु गाउँ पुगिसके, भक्तपुरबाट पनि रोल्पा, सल्यान कताकता पठाइसकेको सुन्छु’, उनले अनलाइनखबरसँग भने, ‘गाउँमा गहुँ काट्ने, अदुवा रोप्ने बेला भइसक्यो । बुढी पनि एक्लै छे । हामी चाहिँ यहाँ बन्दी भयौं ।’
उनले भागेर जाने पनि नसोचेका होइनन् । तर शनिबार राति पार्कबाट निस्किन खोज्ने १४ जना मजदुरलाई जताबाट आएको त्यतै फर्काइएको दृश्य देखेपछि झस्किए ।
‘हामीलाई यो कटेरोबाट अर्कोतिर हिँड्नै दिँदैनन्’, उनले भने, ‘त्यसैले अरुसँग सल्लाह गर्न पाइएको छैन । तर १४ जना भए पनि केही सोच्नुपर्ने स्थिति आइसक्यो ।’
पार्कमा कति दिन बस्नुपर्ने हो भन्ने पनि स्पष्ट नबताइएको गुनासो गर्दै उनले गाउँ पुगेर पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनेको सुनेको बताए । ‘यहीँ कहिलेसम्म राख्ने हो थाहा छैन । गाउँ गएर पनि यसरी राख्यो भने खेती उठाउने समय जान्छ’, उनले दुःख पोखे, ‘यसरी अर्को वर्ष पनि हामी भोकै हुन्छौं ।’


