२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अन्तरवार्ता

राजसंस्थासहितको गोलमेच सम्मेलन हुनुपर्दछ

banner
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा एउटा फरक धारको राजनीति गर्ने पाटीको रुपमा चिनिन्छ । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकमा मात्रै २५ सिट ल्याउन सफल भएको राप्रपाले २०६४ सालमा सम्पन्न भएको निर्वाचनमा भने एक सिटभन्दा अरु ल्याउन सकेन ।
हालै सो पार्टीले मुक्तिनाथदेखि गोरखासम्मको जागरण यात्रा पनि सम्पन्न गरेको जनाएको छ । नेपाल समाचारपत्रका पर्सा संवाददाता कृष्णउदास खनालले राप्रपाले हाल सञ्चालन गरिरहेको राजनीतिक गतिविधिका विषयमा केन्द्रित रहेर सो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापासँग गर्नुभएको कुराकानी
अहिले राप्रपाले के गरिरहेको छ, अध्यक्षज्यू ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन ७ गते प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापनासहित विभिन्न २२ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका थियो र हामीले ती माग पूरा नभए हामी आन्दोलनमा जान्छौं भनेका थियौं, पहिलो चरणको आन्दोलन पनि हामीले गरिसकेका छौं । त्यसपछि सरकारले ती मागको सम्बोधन गर्नका लागि वार्तामा बोलाएको छ र अहिले हामी सरकारसँगको वार्तामा छौं । केही समय हामी सरकारसँगको वार्तामा रहन्छौं र यदि हाम्रो माग पूरा भएन भने दोस्रो चरणको आन्दोलनमा जानुको विकल्प हुनेछैन । दोस्रो चरणको आन्दोलनको तयारी गरिरहका छौं ।
यहाँहरुको माग भनेको के हो, यो आम नागरिकलाई बताइदिनुस् न ?
यसमा हामीले विभिन्न २२ बटा माग समावेश गरेका छौं । पहिलो नम्बरमा धर्म निरपेक्षको खारेजीको माग गर्दै हिन्दुराज्य स्थापनाको माग गरेका छौं र दोस्रो नम्बरमा राजसंस्थासहितको लोकतन्त्र कायम गर्नका लागि सर्वपक्षीय गोलमेच सम्मेलन कायम गरियोस् भन्ने छ । त्यसै गरी तेस्रो नम्बरमा संघीयता कार्यान्यनको सवालमा देखा परेको जटिलतालाई दृष्टिगत गर्दै संघीयता बारे जनताको जनमत गर्न राष्ट्रिय जनमत संंग्रह गरियोस् भन्ने छ ।
यो मूल सैद्धान्तिक माग हो भने यसका अलवा राष्ट्रिय सरोकारका मागहरु जस्तै भारतसँगको १९५० को सन्धिलाई विस्थापित गरी नयाँ सन्धि गरियोस् । अतिक्रमित सीमाहरु फिर्ता गरियोस् भन्ने छ । यसका साथै अहिले भ्रष्टचार महारोगको रुपमा देखा परेको छ । २०४७ सालपछि चरम भ्रष्टाचार मौलाएको छ । उच्च तहमा रहेका कर्मचारी, नेता सबैको सम्पत्ति छानविनका लागि यसका लागि एक उच्चस्तरीय छानविन समिति बनाइयोस् । यसरी नै एनसेल कर छली प्रकरण, नेपाल वायु सेवा निमगमको वाइडबढी काण्ड, ३८ किलो सुनकाण्ड, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा ल्याउने भूमाफियालाई कारबाही गरियोस् भन्ने माग छ । गरिबी र बेरोजगार अन्त्यका लागि पहल गरियोस् र गौ रक्षाका लागि प्रत्येक गाउँपालिका र नपामा एउटा गौशाला निर्माण गरियोस् भन्ने आम जनसरोकारका माग रहेका छन् ।
तपाईं आफैं पटकपटक सरकारमा सहभागी हुनुभयो तर यी कुरा तपाईंले किन उठाउनुभएन ?
पहिलो कुरा त हामीहरुको सरकारममा सहभागिता सांकेतिक रुपमा मात्रै रहँदै आयो । हामीले सरकारको नेतृत्व गरेको होइन तर सरकारमा सहभागी मात्रै भएको हो । केही मन्त्रालयको जिम्मेवारी मात्रै लिएका हौं । यद्यपि हामी सरकारमा सहभागी भएका चाहिँ हौ । त्यसकारण त्यो जिम्मेवारीबाट पन्छिन त मिल्दैन । त्यति बेला पनि हामीले केही कुरा उठाएका हौं र केही पूरा पनि भएका हुन् र अहिले सडकमा छौं सडकबाट सरकारलाई दबाब दिइरहका छौं ।
दोस्रो चरणको आन्दोलन कहिलेदखि गर्दै हुनुहुन्छ ?
यो सरकारमा भर पर्ने कुरा हो । सरकारसँग केही चरणको वार्ता भएको छ । अब चाँडै नै अर्को चरणको वार्ता हुने विश्वासमा हामी छौं । हाम्रो सबै माग सरकरले एकैपटक पूरा गर्छ भन्ने हामीलाई लाग्दैन तर जनसरोकारसँग जोडिएका माग पूरा हुनुपर्दछ भन्ने हाम्रो माग हो । यदि यी माग पूरा नभए हामी संघर्षमा जान्छौं । मलाई लाग्छ, यो बिषयमा केही दिनमा निर्णय हुन्छ ।
यहाँहरुले हालै मुक्तिनाथदेखि गोरखासम्मको जागरण अभियान चलाउनुभयो, यसकोे उद्देश्य के थियो ?
हामीले सरकारसमक्ष पेस गरेको मागको विषयमा जनतालाई जानकारी गराउने र सरकारलाई सशक्त दबाब दिने हाम्रो कार्यक्रमको उद्देश्य हो ।
सरकारलाई दबाब प¥यो त यो अभियानले ?
सरकारलाई कत्तिको दबाब प¥यो यो त म यसै भन्न सक्दिनँ । तर, आम जनमासनमा भने अत्यन्तै सकारात्मक प्रभाव परेको छ । खास गरी नेपाललाई हिन्दुराष्ट्र बनाउन, बेरोजगारी समस्या समाधान गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा जनतामा राम्रो प्रभाव परेको मैले पाएको छु । हामी जहाँ जाँदा पनि जनताले सद्भाव, समर्थन र एक्यबद्धता जनाएको पाएका छौं ।
अध्यक्ष ज्यू,यहाँले र्दुइवटा कुरा उठाउनुभएको छ,खासगरी हिन्दुराज्य र राजसंस्थाको कुरा उठाउनुभएको छ । अहिले मुलुकमा गणतन्त्र छ,गणतन्त्रमा यो माग संभव होला र ?
हेर्नुस्,मुलुक अहिले संघीय गणतन्त्रमा रहेको कुरा मलाई राम्रैसँग थाहा छ । नेपालमा बेरोजगारी समस्या समाधान गर्न सक्यो भने, शान्ति सुरक्षा दिन सक्यो भने, जनताको मुखमा हाँसो र उज्यालो ल्याउन सकेको खण्डमा हाम्रो माग यसै पनि ओझेल परेर जानेछ । तर, हेर्नुस् विगत १३ वर्षको अवधिमा नेपालमा समस्या छ ।
हिन्दुराज्य र राजसंस्थालाई पाखा लगाएको करिब १३ वर्ष भयो तर जनतको मुहारमा हाँसो आउन सकेको छैन । हाम्रो एजेन्डा अहिले नै पूरा हुने अवस्था नभए पनि नेपालको राष्ट्रिय राजनीतिमा हाम्रो एजेन्डा एउटा सशक्त विकल्पका रुपमा छ र यो पहिलाभन्दा अहिले अझ बढेको छ भन्ने लाग्छ हामीलाई । नेपालको सनातन धर्महरु हिन्दु, बुद्ध र किरातलाई अझै सशक्त बनाउनुपर्छ भन्ने लागेको छ र यसमा राम्रो जनमत पनि खडा भएको छ ।
राजतन्त्रको तुलनामा त गणतन्त्रमा विकास बढी भएको छ नि होइन र ?
जहाँसम्म विकासको कुरा छ, त्यो त मलाई लाग्छ अहिले हामीले सन्तुष्ट हुने ठाउँ छैन । बाटोघाटो बनेका छन्, पुल बनेका छन् तर समग्रमा देशको अर्थमन्त्रको धरातल निकै कमजोर छ । नेपालको अर्थतन्त्र भनेको हामीले विदेशमा पठाएको छाराछोरीको रकमबाट चलिरहेको छ । अहिले पनि देशको कुल ग्राहस्थ उत्पादन झन्डै ४० प्रतिशत विदेशमा रहेर काम गरिरहेका रगत पसिना बगाएका नेपालीबाट चलिरहेको छ ।
भोलि कुनै मुलुकमा आर्थिक मन्दी आयो र रोजगारीको अवसर बन्द भयो भने त्यसको सिधार असर नेपालको अर्थ जगत्मा पर्दछ । त्यस कारण हाम्रो अर्थ जगत्को जग बलियो छैन । विकास र आर्थिक समृद्धिको कुरा छ, अहिलेको सरकारले त्यता ध्यान दिएको छैन । हुन त राजा आउनेबित्तिकै जादुको छडी जसरी परिवर्तन हुन्छ भन्ने मेरो भनाइ पनि होइन । हिजो एकदमै राम्रो थियो भन्ने पनि होइन । राजसंस्थासहितको लोकतन्त्र हुनुपर्छ भन्नुको मतलव नेपालमा अभिभावको अवस्था रहेन भन्ने पनि हो । हामीलाई कहिलेकाहीं चिन्ता लाग्छ, मुलुक अभिभावकविहीन जस्तो बनेको छ । राष्ट्रियता खतरामा परेको छ । मुलुकलाई अभिभाकत्व प्रदान गर्नका लागि पनि राजसंस्था आवश्यक छ भन्ने हाम्रो भनाइ हो ।
राष्ट्रपति संस्था त छ नि अभिभावकका रुपमा ?
पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीसँग व्यक्तिगत रुपमा मेरो केही भनाइ छैन । तर, यो पार्टीको टिकटबाट बनेका कारण सिद्धान्ततः राजसंस्था र राष्ट्रपति के आवश्यक यो बहस होइन । मूल कुरा देशको भूगोल, जनताको चाहनाअनुसार गर्नुपर्दछ । कतिपय धनी देशमा राजसंस्थासहितको प्रजातन्त्र छ भने कतिपय देशमा गणतन्त्र पनि राम्रो छ । तर, नेपालको सवालमा लोकतन्त्रमा राजसंस्था रहन सक्छ । नेपालको एकीकरणमा राजसंस्थाको महत्वपूर्ण भूमिका छ । त्यसैले कम्तीमा अभिभावको रुपमा सेरेमोनियल हिसाबले राजसंस्था रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
अनि नारायणहिटी दरबार हत्याकण्डका विषयमा त तपाईंले खासै बोलेको सुनिँदैन नि ?
हामीले धेरै पटक यो कुरा उठाएका छौं । जसले यो विषयमा कुरा गरेका छन् । जसले आशंका गरेका छन् । उनीहरुले यो कुराको अनुसन्धान गर्नुपर्दछ भन्ने लाग्दछ ।
अन्त्यमा, अब हुने निर्वाचनमा तपाईं फेरि मकवानपुरबाट नै निर्वाचन लड्ने सोचमा हुनुहुन्छ कि ?
मकवानपुरका जनताबाट मैले अन्त्यन्तै न्यायो माया, ममता र स्नेह पाएको छु । आज म जुन अवस्थामा छु, जुन व्यक्तित्व मैले पाएको छु त्यो मकवानपुरकै जनताको स्नेहबाट पाएको छु । मैले पटक पटक जनताको साथ पाएर पनि चुनाव हारेको छु । जनताको सद्भाव रहँदारहँदै पनि चुनाव अनुकूल भएको छैन । मैले अझै हरेश खाएको छैन । मेरो अभियान भनेको देशमा राष्ट्रवादी शक्ति बनाउने मेरो लक्ष्य रहेको छ । कांग्रेस र कम्युनिस्टको विकल्पको पार्टीका रुपमा उभ्याउने मेरो लक्ष्य रहेको छ । मेरो अभियान यसैमा रहनेछ । आगामी चुनावमा उठ्ने, नउठ्ने कुरा त पछि पार्टीले निर्णय लिनेछ ।

ad

यो पनि पढौँ

कडा निर्णय लिने स्थिति नआओस्, आ-आफ्नो कर्तव्य बोध गरौँ– मन्त्री खतिवडा(अन्तरवार्ता)

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा कामै गर्न दिनुभएन, नत्र यस्तो अवस्था आउने थिएन

कोर्पोरट आवाज डट कम

महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिने हो: गृहमन्त्री थापा (अन्तरवार्ता)

कोर्पोरट आवाज डट कम

1 comment

GenevaE July 7, 2024 at 12:33 pm

I like this web blog very much, Its a really nice position to read and find info.Raise your business

Reply

Leave a Comment