
कोभिड महामारीबीच भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा के–कस्तो काम गर्दै आएको छ ?
एक वर्षभन्दा बढी समय कोभिड–१९ बीच बित्यो । जस्तोसुकै कठिन समयमा पनि भक्तपुर नपाले जनताको स्वास्थ्य उपचार सेवालाई बन्द गरेन । कोभिड महामारीबीच २०७७ साउन १ गतेदेखि वैशाख मसान्तसम्म मात्रै जनस्वास्थ्य केन्द्रले ९६ हजार १ सय ५७ जना बिरामीलाई सेवा प्रदान गर्यौं । गत वर्ष पनि कोभिड संक्रमितहरूका लागि आइसोलेसन र सम्भावित संक्रमणलाई रोक्न घर, होटल र नगरपालिकाको छुट्टै क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्था गरी आवश्यक सेवा प्रदान गरेको थियो ।
कोभिडको दोस्रो लहरपछि कसरी काम गर्नुभयो नि ?
कोभिडको दोस्रो लहर अत्यन्त घातक देखिएको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, क्लोरिन र चुन छर्ने, टोलटोलमा साबुनपानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आयो । नगरपालिकाले २०७८ साल वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन ग-यो । ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सेवा उपलब्ध गरायो । चौबीसै घण्टा २ जना डाक्टर, ६ जना नर्स र आवश्यक संख्याका कर्मचारी बन्दोबस्तका साथै १ जना फिजिसियन र १ जना एनेस्थेसियाका विशेषज्ञ राखेर सेवा प्रदान गर्दै आएको छ । त्यहाँ बसुन्जेल सम्पूर्ण सेवा निःशुल्क प्रदान गरेको छ ।
अक्सिजनको आपूर्ति कसरी गरिरहनुभएको छ ?
बिरामीहरू थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र इमर्जेन्सी सेवामा अक्सिजनको माग बढ्न थाल्यो । हामीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिका लागि पटक–पटक आग्रह गर्यौैं । वैशाख २७ गते दैनिक ३० सिलिन्डर र २८ गते दैनिक ८० सिलिन्डर अक्सिजन ख्वप अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय ग-यो । तर, त्यो निर्णयअनुसार कहिल्यै हामीले अक्सिजन पाएनौं । अक्सिजन अभावमा संक्रमितहरू मृत्यु हुने सम्भावना बढ्न थाल्यो । हाम्रा कर्मचारीहरू विभिन्न अक्सिजन प्लान्टहरूमा रातरातभर तीन–चारवटा अक्सिजनका लागि लाइन बसेरै भए पनि अभाव हुन दिएनौं । तर, त्यो लामो समयसम्म सम्भव थिएन ।
के नगरपालिका आफैंले अक्सिजन प्लान्ट राख्ने तयारी गरेकै हो ?
हो, हामीले नेपाल सरकारसँग भेन्टिलेटर, आईसीयु र अक्सिजन प्लान्टको माग गर्यौं । पटक–पटक माग गर्दा पनि हामीलाई सरकारले सहयोग गरेन । मानिस मरिसकेपछि सहयोगको के अर्थ ? सरकारले सहयोग नगरेपछि स्थानीय सहकारी संस्था, शैक्षिक संस्था, व्यवसायीहरू र अन्य महानुभावहरूसँग पटक–पटक बैठक गरी सहयोगका लागि आग्रह ग-यौं र आफैंले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयुको व्यवस्थाका लागि अगाडि बढ्यौं । हामीले जनताबीच भन्यौं— महामारीको बेला तपाईंहरूले नगरपालिकालाई सहयोग गर्नुहोस्, हामी तपाईंहरूलाई उत्कृष्ट स्वास्थ्य उपचार सेवा दिन्छौं । हाम्रो आग्रहलाई स्वीकार गर्दै अहिले जनस्तरबाट उल्लेख्य सहयोग प्राप्त भएको छ । ती सबै सहयोगी संस्था र महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद दिन्छौं ।
संघीय सरकार र प्रदेश सरकारसँग आर्थिक सहयोग माग्नु भएन र ?
माथि नै उल्लेख गरी सक्यौं नि ! सत्तामा बस्नेहरूमा भक्तपुर नगरपालिकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । जनताको सेवा गर्नेहरूलाई भन्दा आफ्नालाई प्राथमिकता दिने पञ्चायती शैलीले निरन्तरता पाएको छ । हामीले नगरवासीहरूको स्वाभिमानलाई बचाउँदै स्वायत्तताको अभ्यास गर्दै आएका छौं । सरकारले जनस्वास्थ्य केन्द्रलाई बिमाबापत दिनुपर्ने साढे ५ करोड रुपैयाँभन्दा बढी रकम अहिलेसम्म उपलब्ध गराएको छैन, तापनि नगरवासीहरूको स्वास्थ्य उपचार सेवामा कति पनि कमी हुन दिएका छैनौं । नगरवासीहरू हाम्रो साथमा रहेसम्म संघ र प्रदेशले सहयोग नगरे पनि जनप्रतिनिधिहरूको सेवा गर्ने भावनामा अलिकति पनि कमी आउन दिनेछैनांैं ।
ख्वप अस्पताल कोभिड युनिटमा कति जना संक्रमितहरूले सेवा पाइसकेका छन् ?
जेठ १२ गतेसम्म १ सय ५५ जनाले भर्ना भई सेवा प्राप्त गरिसक्नुभएको छ । तीमध्ये १ सय २५ जना आइसोलेसन सेवा र ३० जनाले एचडीयु सेवा लिनुभएको छ । हाल ४१ जनाले सेवा लिइरहनुभएको छ । घरघरमा बस्ने ८ सयभन्दा बढी हुनुहुन्छ । उहाँहरूका लागि पनि आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण, फोहर संकलनजस्ता कामहरू नगरपालिकाले गरिरहेको छ ।
च्याम्हासिंहमा ओपीडी सेवा बन्द भएको हो र ?
कोभिड संक्रमितहरू धेरै बढ्न थालेपछि त्यहाँ आउने बिरामीहरूलाई समेत रोग संक्रमण फैलिने सम्भावना बढ्यो । त्यसको उचित व्यवस्थापन गरी अघि बढ्न ज्वरो आएका र संक्रमणको सम्भावना भएकाहरू परीक्षणका लागि छुट्टै फिबर क्लिनिक व्यवस्था गरी ओपीडी सेवा केही समयका लागि स्थगित गरिएको हो । पुनः चरणबद्ध रूपमा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्दै छौं । इमर्जेन्सी सेवा भने कहिल्यै बन्द भएको छैन ।