२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

भरतपुर कोरोना अस्पतालका कर्मचारीले चोरे चप्पल, मास्क र सेनिटाइजर, १५ दिनपछि छानबिन समिति

banner

चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक/एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो।

कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिएपछि छानबिन गर्न समिति गठन गरिएको हो।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ।

उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के-के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन।

भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले सेतोपाटीसँग कुराकानी गर्दै कोरोना संकटका बेला सामान चोरी हुनु दु:खद भएको बताइन्।

‘यस्तो संकटका बेला सामानहरू चोरी गर्नू दु:खद हो,’ उनले भनिन्, ‘के कति सामग्री कसले चोरेको हो भन्ने छानबिन गर्न समिति बनाएका छौं।’

सोमबार छानबिन समिति गठन गरिए पनि महानगर र अस्पतालबाट को-को सदस्य भन्ने टुंगो नलागेको उनले बताइन्। उक्त छानबिन समितिलाई एक साताभित्र प्रतिवेदन दिन भनिएको महानगरले जनाएको छ।

‘ती कर्मचारीलाई महानगर र अस्पतालले फिर्ता बोलाइसकेको छ,’ उपप्रमुख ठकुरीले भनिन्, ‘आवश्यक छानबिन समितिमार्फत् हुन्छ नै। हामीले सर्वपक्षीय समितिबाट पनि छानबिन गरौं भनेका छौं।’

कोरोना अस्पताल भरतपुर अस्पताल मातहत वैशाख १ देखि सञ्चालनमा छ।

गत चैत २१ गते नै कोरोना अस्पताल भरतपुर अस्पतालमातहत सञ्चालन गर्ने निर्णय भएको थियो। तर वैशाख १ गते मात्रै अस्पतालका सामग्री भरतपुर अस्पताललाई बुझाइएको थियो। ती कर्मचारीले चैत ३० गते राति करिब ९:३० बजे सामानहरू स्टोरबाट चोरेको आरोप छ।

स्टोरबाट सामग्री चोरी भएको विषयमा छानबिन समिति बनेकोले त्यसले नै छानबिन गर्ने भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

‘छानबिन समिति बनेको छ, त्यसले नै सत्यतथ्य बाहिर ल्याउँछ,’ उनले भने।

कोरोना संकटका बेला अस्पतालबाट सामग्री चोरी भएको भन्दै नेपाली कांग्रेस चितवनले पनि विज्ञप्ति निकालेर छानबिन गर्न माग गरेको छ।

जिल्ला सभापति जितनारायण श्रेष्ठले मंगलबार निकालेको विज्ञप्तिमा सर्वपक्षीय अधिकारसम्पन्न छानबिन समिति बनाउन पनि माग गरिएको छ।

अस्पतालका हालसम्मका आर्थिक गतिविधिको छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न उनले माग गरेका हुन्।

सत्ता र शक्तिका आडमा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनेलाई कारबाही गर्न पनि सभापति श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन्।

ad

यो पनि पढौँ

कोरोनाको जोखिम बढेपछि भक्तपुर सिल गरियो, काठमाडौं र ललितपुर पनि सिल गरिदैं

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा १४ जनामा हैजाकाको संक्रमण पुष्टि

Corporate Aawaj

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

कोर्पोरट आवाज डट कम

Leave a Comment