४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

विजेन्द्रले नवदुर्गालाई चढाए ९० हजारको ‘खःमेय्’

banner

भक्तपुर । भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा मन्दिरमा बिहीबार खःमेय् (राँगो) बाँधिएको छ । विजया दशमीअन्तर्गत महानवमीको दिन नवदुर्गा मन्दिरबाट उक्त खःमेय् दौडाएर जात्रा गरिन्छ । सोही जात्राको लागि आवश्यक पर्ने खःमेय् नवदुर्गा मन्दिरमा बाँधिएको हो ।
नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।
नवदुर्गामा ल्याइएको खःमेय् मन्दिरकी नकीं न्हुछेमाया बनमालाले स्वागत गर्दै पूजाआजा गरेकी छन् । नकीं न्हुछेमायाले नै अब दसैंको नवमीसम्म उक्त खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् ।
जात्राको विधानअनुसार गाथामोग चतुर्दशीको दिन नवदुर्गा मन्दिरमा खःमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके बुद्धिकुमार बनमालाले जानकारी दिए । उक्त डोरी बाँधिसकेपछि खःमेय्को लागि योग्य राँगो खोजी हुने उनले बताए ।
सोहीअनुसार यसवर्ष भक्तपुर नपा २ बालाखु निवासी विजेन्द्र पुँलाछेंले उक्त खःमेय् चढाएका हुन् । उनले काठमाडौंको गोकर्णबाट करिब ९० हजार रुपैयाँमा उक्त खःमेय् ल्याएको जानकारी दिए ।
विजेन्द्रले चार वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गरेका थिए । जसअनुसार पाँचौं वर्षमा उनले नवदुर्गालाई खःमेय् चढाउने पालो पाएका छन् ।
खःमेय्लाई महिषासुर राक्षसको रुपमा लिइन्छ । त्यसैले वडा दसैंको महानवमीको दिन तुलजा भवानीले महिषासुर वध गरेको मानेर त्यहीं दिन उक्त खःमेय्को जात्रा गर्दै भक्तपुर नपा ९ ब्रह्मायणी पीठमा त्यसको बलि दिइन्छ ।
नवमीको दिन जात्रा गर्नुपर्ने भएकाले खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्ने प्रचलन रहँदै आएको छ ।
नवदुर्गा मन्दिर भित्र्याइएको खःमेय्लाई नकींले दिनहुँ तोरीको तेल डलिदिनुपर्छ । मीठोमीठो खानेकुरा खुवाइन्छ । जाँडरक्सीसमेत खुवाइन्छ । जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभावको बन्दै आउने नवदुर्गा गणका नाइके बनमाला बताउँछन् ।
उनका अनुसार देवगणले पनि पालैपालो खःमेय्लाई घाँस, दानापानीको व्यवस्था गरिदिनुपर्छ । यस वर्ष तलेजूका रकमी खड्गीहरु पछि हटेपछि भक्तपुरकै श्याम नकर्मीले खःमेय् बाँधेका छन् ।

ad

यो पनि पढौँ

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कोर्पोरट आवाज डट कम

थप एक जनामा कोरोना संक्रमण पुष्टि

कोर्पोरट आवाज डट कम

‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ

कोर्पोरट आवाज डट कम