
शुक्रबार प्रहरीहरु काठमाडौंका सडकमा एउटा अनौठो उपकरण लिएर निस्किए।
फलाम र प्लाष्टिकबाट बनेको यो उपकरण धेरैको लागि नौलो थियो। कोरोना भाइरसको कारण सरकारले सामाजिक दुरी कायम गर्नु भनिरहेको बेला प्रहरीको लागि सुरक्षित भएर मानिस समात्न यो औजार गजब काम आएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको दुई वटा टोलीले अहिले यो उपकरण लिएर लकडाउन उल्लङघन गर्नेलाई नियन्त्रणमा लिइरहेको छ। शनिवार बिहान ११ बजेसम्म काठमाडौं परिसरले ४ सय ३० जनालाई नियन्त्रणमा लिइसकेको छ। जसमध्ये धेरै मानिस नियन्त्रणमा लिन यही डिभाइस प्रयोग भइरहेको छ। प्रहरी निरीक्षकको कमाण्डमा १५/१५ जनाको टोली बनाएर समातिरहेको छ।
सडकमा मानिस देखिहाले भने प्रहरी टोलीले पहिले बाहिर निस्किनुको कारण सोध्छ। त्यसपछि चित्तबुझ्दो कारण र प्रमाण नदेखिएर सामाजिक दुरी कायम गर्न आग्रह गर्छ। त्यसपछि उपकरण बोकेका प्रहरीले मानिसलाई परैबाट नियन्त्रणमा लिन्छन्।
करिब ५ मिटर लामो उपकरणमा एउटा बटम हुन्छ। प्रहरीले समात्ने ठाउँमा रहेको बटमा थित्यो भने मेसिन खुल्छ। अर्थात् सनासो झै काम गर्छ। त्यसपछि मेसिनलाई नियन्त्रणमा लिने मानिसको शरीरमा लाग्छ। त्यसपछि फेरि बटमा थिचिएपछि मेसिनले मानिसलाई लक गर्छ। त्यसपछि मानिसलाई भ्यानमा हाल्ने गरिन्छ।
कसरी काम गर्छ डिभाइसले?
प्रहरीले अहिले प्रयोग गरिरहेको यो डिभाइस नयाँ भने होइन। यो उपकरण प्रहरीले अहिले नै ल्याएर थन्क्याएको थियो। तर, अहिले यो उपकरणको प्रयोग व्यवहारिक देखिएको हो। पहिले चक्कु तथा धारिलो हतियार बोकेका मानिसलाई नियन्त्रणमा लिन यसको प्रयोग गर्ने गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।
‘यो उपकरण नयाँ होइन। प्रयोग मात्र अहिले आएर भएकाले त्यस्तो लागेको हो,’ डिएसपी बोगटीले भने।


