४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकामसहित बजार जोखिममा

banner

बेनी : बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनीसहित चारवटा मुख्य बजार कटानको उच्च जोखिममा परेका छन्। 

कालीगण्डकीमा आएको बाढीले बेनीको कालीपुल, संगमचोक, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग-तातोपानी, म्याग्दी नदीको बाढीले मालिका गाउँपालिकाको केन्द्र दरवाङ्ग बजार र बेनी नगरपालिका-४ तातोपानीको मसारमा कटान गर्न थालेको छ। 

बेनी नगरपालिका-८ संगमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मंगलबार राती कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो। दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए। 

‘तटबन्ध भत्काएर बजारतर्फ कटान सुरु गरेको छ,’ उनले भने, ‘तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ।’ रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पर्खाल निर्माण गर्दै आएको छ। 

तटबन्ध भत्किएपछि कालीगण्डकीको भंगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो। बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधरीको बसोबास छ। ३० भन्दा बढी सरकारी कार्यालयका भवन छन्। 

गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी-अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मंगलाघाटमा रहेको बन डिभिजन, भू-संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका ७ वटा भवनसँगै नर्सरीमा क्षति पुर्‍याएको थियो। 

जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कमा क्षति पुर्‍याएको छ। क्याम्पस चोकमा आएको बाढी देबेन्द्र पौडेलको ग्यारेजभित्र बसेर क्षति गरेको छ। 

कालीपुलका व्यापारी रुद्र सुवेदीले बाढी तर्काउदाँ तर्काउदै रातभर जाग्राम बसेको बताए। बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएको छ। 

केही दिनदेखिको निरन्तरतको वर्षापछि कालीगण्डकी, म्याग्दी र राहुघाटलगायत म्याग्दीका मुख्य र सहायक नदीहरुमा बाढीको सतहले खतराको तह नाघेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माथिल्लो क्षेत्रमा गएको पहिरो मिसिने मुख्य नदीमा तटीय क्षेत्रमा कटानको जोखिम बढाएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। 

कालीगण्डकीमा आएको बाढीले तटबन्ध र पक्की पर्खाल कटान गर्न थालेपछि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा प्रहरी चौकीसहित करिब २० घर जोखिममा परेका छन्। 

भुरुङ्ग-तातोपानीको नागढुङ्गा क्षेत्रमा बेनी-जोमसोम-कोरला सडक आयोजनाद्धारा नदी किनारमा निर्माणाधिन पक्कि पर्खालमा बाढीले क्षति पुर्‍याएको छ। मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एक वटा घर र जनप्रिय माविको दुई कोठे भवन म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए। 

अन्नपूर्ण गाउँपालिका-५ घोस्केखोरमा ७, स्वातमा ३ र पाउद्धारमा २ घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए। एक वटा गोठ पहिरोले पुरिएको छ। ‘पहिरोले क्षति पुर्‍याएका र जोखिममा परेका घरका मानिस, गाईवस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने ‘सँयौ रोपनी खेतियोग्य जमिनमा क्षति पुगेको छ।’ 

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी नगरपालिका-२ बगरफाँटमा ९ र वडा नम्बर ९ सल्लेरीमा ४ घरपरिवार बिस्थापित भएका छन्। यसैगरी बेनी नगरपालिका-४ डाडाखेतमा तीन परिवार बिस्थापित भएका छन्। 

बेनी नगरपालिका-१ रत्नेचौर र मंगला गाउँपालिका-२ तल्लो डडुवामा एक÷एक वटा घर भत्किएका छन्। बेनीको ६ नम्बर वडाको डम्मरामा दुई र अर्थुङ्गेमा एक घर, रघुगंगाको ४ नम्बर वडा दग्नाममा ३ घरलाई सुरक्षित ठाउँमा सारिएको छ। 

म्याग्दीमा गत वर्षको बर्खामा बाढी पहिरोबाट ३१ जनाको मृत्यु र ४ जना बेपत्ता भएका थिए। २४७ वटा घर पूर्ण रुपमा भत्किएका र पहिरोले बगाएको थियो। ८१ वटा बस्तिका सात सय बढी घर पहिरोको जोखिममा छन्। गत बर्षको पहिरोले क्षति पुर्‍याएको निजी आवास र सार्वजनिक पूर्बाधारको पुननिर्माण नसकिदै सुरु भएको बर्षातले थप क्षति गर्न थालेको हो।

ad

यो पनि पढौँ

अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

कोर्पोरट आवाज डट कम

कास्कीमा निषेधाज्ञा साउन ५ सम्म, व्यवसाय बिहान ५ बजेदेखि राति ८ बजेसम्म खोल्न पाइने

कोर्पोरट आवाज डट कम

राष्ट्रियसभाको आजको बैठक स्थगित

Corporate Aawaj