
भक्तपुर, १० असार । सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सूर्यविनायकमा आयोजित नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई आगामी एकवर्षमा पुरा गरिने बताए ।
नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ वटा पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, १५ सय सडक बत्ती जडान, ११ सिंचाई कूलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घर नक्सा पास, ५३ कानून निर्माण, न्यायिक समितिबाट १३३ विवादको निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी र सात हजार ९०१ जनालाई राहत वितरण भएको छ ।
त्यस्तै १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठ मन्दिर निर्माण तथा जीर्णोद्दार, नौ स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ निगरबासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिशिल्ड र २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगर प्रमुख थापाले बताए।
नपाले आगामी आवमा कृषि, उद्योग, शिक्षा, पर्यटन र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई मुलुककै उत्कृष्ट, व्यवस्थित,सुन्दर एवं हराभरा नगर बनाई ‘हाम्रो रहर, समृद्ध नगर’ बनाइने भएको छ । कोभिड महामारी नियन्त्रण गर्न सङ्क्रमितको खोज, निःशुल्क स्वाब सङकलन एवं परीक्षण र खोप कार्यक्रमलाई चरणबद्ध अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।
नगरक्षेत्रका आफ्ना सबै नागरिकलाई स्वास्थ्य बीमा गराउन लाग्ने शुल्कमा एक हजारका दरले अनुदानको व्यवस्था गर्ने, ‘निरोगी नगर’ बनाउन सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न जनसङ्ख्याको अनुपातमा आवश्यक जनशक्ति र अत्यावश्यक औषधिको व्यवस्था, आधुनिक प्रविधि तथा उपकरण प्रयोग, गुणस्तरीय र विस्तारित प्याथोलोजी सेवा सञ्चालन गरिने भएको छ । ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सहित सेवाबाट बिदा दिने, स्वास्थ्य घुम्ति शिविर गरिने, नगरका १६ वर्षमुनिका क्यान्सर बिरामीको उपचारमा आर्थिक सहायता दिने भएको छ।


