
काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थप गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त निर्णय गरेका हुन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ ।
२५ सिट क्षमताभन्दा माथिका सवारी साधन सञ्चालनको अनुमति दिएतापनि अन्य साना सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाईएको छ ।
उक्त सवारी साधन बिहान ६ बजेदेखि साझँ ७ बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ ।
खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।


