
नेपाल आयल निगमले इन्धनको मूल्य एकैपटक प्रतिलिटिर १० रुपैयाँ घटाउँदा करिब ३० देखि ४० करोड रुपैयाँ घाटा लागेको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले आयल निगमसँग क्षतिपूर्तिसमेत मागेका छन् ।
निगमले बुधबार डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो । आफूहरुले महँगो मूल्यमा किनेर इन्धन भण्डारण गरेको, तर अहिले लकडाउनको बेला एकैचोटि धेरै मूल्य घटाइदिँदा घाटा भएको व्यवसायीहरुको भनाइ छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले बिहीबार नेपाल आयल निगमलाई पत्र लेखेर क्षतिपूर्तिको व्यवस्था मिलाइदिन माग गरेको छ । एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले निगमलाई लेखेको पत्रमा पेट्रोलियम व्यवसायीहरुको करिब ३० देखि ४० करोड घाटा भएको उल्लेख छ ।
‘उक्त घाटा पेट्रोलियम व्यवसायीहरुले धान्नसमेत नसक्ने’ उल्लेख छ । त्यसैले व्यवसायीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत ८ गते मन्त्रालयमै बोलाएर क्षमताले धानेसम्मको तेल भण्डारण गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । मन्त्रीको आग्रह सबै व्यवसायीले इन्धन भण्डारण गरेका थिए । तर अहिले आफूहरुले धोका पाएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल पेट्रोलियम डिलर एशोसिएसन बागमतीका अध्यक्ष अच्युत खड्काले भने, ‘अहिले पेट्रोलियमको बिक्री ठप्प छ, अर्को कुरा १ सय ६ रुपैयाँ प्रतिलिटरमा किनेको तेल ९६ रुपैयाँमा कसरी बेच्ने ?’ खड्काका अनुसार अहिले सरकारले घटाएको मूल्यले हरेक पेट्रोल पम्पलाई ८० हजारदेखि ९ लाख रुपैयाँसम्म घाटा भएको छ ।
निगमको आग्रहमा साना पम्पहरु (६ सयदेखि एक हजार लिटर बिक्री गर्ने) देखि ठूला पम्पहरु (२ हजार देखि ५ हजार लिटर बिक्री गर्ने)ले पूर्ण क्षमतामा डिजेल तथा पेट्रोल भण्डारण गरेको खड्काले बताए । ‘व्यवसायीलाई मन्त्रीकै सामु राखेर तेल भण्डारण गर्न भनियो, अहिले सबै पम्प घाटामा गयौँ,’ अध्यक्ष खड्काले भने ।
मन्त्रालय र निगम नेतृत्वले व्यवसायीलाई ढाँटेर ठूलो अन्तरले इन्धनको मूल्य घटाइदिएको भन्दै व्यवसायीले ‘एकै माघले जाडो नजाने’ धम्की निगमलाई दिएका छन् । ‘दुःखको बेला सरकारलाई सघायौँ, तर हामीलाई धोका भयो,’ एशोसिएसनका बागमती अध्यक्ष खड्काले अनलाइनखबरसँग भने, ‘एक माघले जाडो नजाला ।’
यता आयल निगमले भने इन्धनको मूल्य तोक्ने काम कुनै व्यक्तिले नभई प्रणालीबाट हुने भएकाले पक्षपात नभएको दाबी गरेको छ । कुनैबेला व्यवसायीलाई नाफा हुँदा निगमले फिर्ता नमागेको र घाटा हुँदा पनि केही गर्न नसक्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
‘हामीले नाफा पनि मागेका छैनौँ, घाटा पनि हाम्रो दायित्व हैन, संकटका बेला व्यवसायीले कुरो बुझ्नु पर्छ,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने । ठूलो अन्तरले पेट्रोलियमको मूल्य घट्नु व्यवसायीलाई घाटा खुवाउन नभई राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिले बनेको निगमले जनाएको छ ।
लकडाउनको अघिल्लो दुई दिनमा मात्रै काठमाडौं उपत्यमाका दैनिक १८ लाख लिटरका दरले डिजेल र पेट्रोल थानकोट डिपोबाट वितरण भएको थियो ।


