२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं, सकेको सहयोग गर्छौं: चीन

banner

उत्तरी छिमेकी चीनले कोरोना भाइरसविरूद्ध लडाइँमा नेपाललाई सकेको सबै सहयोग गर्ने बताएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै चीनमा कोरोनाको महामारी फैलिँदा धेरै देशले सहयोग गरेको र अहिले चीनले पनि अरू देशलाई सहयोग गरिरहेको बताइन्।

‘महामारीसँग लड्न चीनलाई अप्ठ्यारो परेका बेला नेपालले मूल्यवान सहयोग दियो, जुन सहयोग चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन्,’ राजदूत यान्छीले भनिन्, ‘अहिले नेपालमा महामारी फैलिरहेको छ र चीनले पनि आफूले सकेजति नेपाललाई सहयोग गर्न खोजिरहेको छ।’

उनले सम्बन्धित मन्त्रालयहरूसँग महामारी रोकथाम र नियन्त्रण, उपचार र क्वारेन्टाइन लगायत विषयमा सूचना आदानप्रदान गर्न दूतावासले एउटा संयुक्त समूह बनाएको जानकारी दिइन्।

‘चीनको केन्द्र सरकारले नेपाललाई केही सामान सहायता दिनेछ। त्यसका लागि दुवै पक्षबीच कुराकानी भइरहेको छ,’ यान्छीले भनिन्, ‘योसँगै चीनका विभिन्न स्थानीय सरकार र नागरिक समाजले पनि नेपाललाई चाहिने सामग्री जुटाउन पहल गरिरहेका छन्।’

उनले सिजाङ स्वशासित क्षेत्र, युनान प्रान्त र केही अरू चिनियाँ इन्टरप्राइजेजहरूले नेपाललाई मेडिकल सामग्री अनुदान दिन खोजिरहेको बताइन्।

‘अहिलेको मुख्य समस्या ढुवानी भएको छ। दूतावासले तत्काल भन्सार क्लियरेन्स र ढुवानीका लागि सबै पक्षसँग कुरा गरिरहेको छ,’ उनले भनिन्, ‘पछि महामारीको अवस्था र आवश्यकता हेरेर दुवै देशका अधिकारीबीच अनुभव साटासाट गर्न विज्ञहरूसँग भिडिओ कन्फरेन्स लगायत गर्नेछौं।’

राजदूत यान्छीले शुक्रबार मात्र नेपाल सरकारले बेइजिङस्थित दूतावासबाट आफूहरूलाई केही सामान चाहिएको छ भनेको जानकारी दिइन्। नेपाललाई चाहिएका सामग्रीबारे चीनको वाणिज्य मन्त्रालयले संयोजन गरिरहेको छ।

मेडिकल सामग्रीमा फरक-फरक देशका फरक-फरक मापदण्ड हुने उल्लेख गर्दै राजदूत यान्छीले चीन आफ्नो निर्यातमा गुणस्तरलाई निकै महत्व दिने र मापदण्ड पूरा नगर्ने सामान निर्यात गर्न नदिने दाबी गरिन्।

‘सम्बन्धित विभागहरूले त्यस्ता मापदण्डको सूक्ष्म निगरानी गर्छन्। भन्सार क्लिरेन्स गर्दा निर्यात गर्ने कम्पनीले ती सामग्री निश्चित मापदण्ड पूरा गरेका छन् भनेर प्रमाणित गरेका हुन्छन्,’ उनले भनिन्, ‘केही समस्या देखिए तथ्यका आधारमा समाधान खोजिन्छ। तर केही पश्चिमा मिडियाहरूले चिनियाँ सामानको गुणस्तरबारे अनावश्यक राजनीतिकरण गर्ने गरेका छन्। यसले महामारीविरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्यलाई सघाउ पुग्दैन।’

यसअघि सरकारले चीनबाट किनेर ल्याएका मेडिकल सामग्रीको मापदण्ड नपुगेको भन्दै आलोचना भएको थियो।

ad

यो पनि पढौँ

रुकुम घटनाः मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता

कोर्पोरट आवाज डट कम

आयोजना भन्छ, ‘पुससम्ममा मेलम्ची आउन सक्छ’

कोर्पोरट आवाज डट कम

नयाँ बिमा कम्पनीको लाइसेन्स लिन दौडधुप, निवर्तमान मन्त्रीदेखि नियामककै पूर्वकर्मचारी आवेदक

कोर्पोरट आवाज डट कम

Leave a Comment