
काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार असोजदेखि हुने भएको छ । यसअघि असार मसान्तभित्रै एकिकृत कारोबार हुने भनिए पनि अब असोजमा मात्रै एकिकृत कारोबार हुने भएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गर्नु पर्ने धेरै कामहरुको तयारी नपुगेको भन्दै दुवै बैंकको सहमतिमा असोजमा मात्रै एकिकृत कारोबार हुने भएको बताइएकाे छ ।
हिमालयन बैंक स्रोतका अनुसार यसअघि असार मसान्तभित्रै दुवै बैंकको एकिकृत कारोबार गर्ने तयारी भएपनि दोस्रो चरणको निषेधाज्ञाको कारण एकिकृत कारोबार धकलिएको हो ।
‘हामीले असार मसान्तभित्रै एकिकृत कारोबार गर्ने किसिमले काम गरिरहेका थियौं, त्यही किसिमले काम पनि भइरहेको थियो, कोरोनाको कारण निषेधाज्ञा पनि लम्बियो, अहिले पनि असहज परिस्थिति नै छ, अब असोज (सेप्टेम्बर) देखि एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छौं,’ स्रोतले भन्यो ।
उनका अनुसार मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउन पनि बाँकी छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच गत बैशाख ३० गते मर्जरको सम्झौता भएको थियो । दुइटै बैंकले मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि’ राख्ने सहमति गरेका छन् ।
मर्जरमा भएको सम्झौता अनुसार बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमसेर राणा बन्ने सम्झौता भइसकेको छ ।
मर्जरपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति बनाउने समझदारी गरेको छ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।


