
काठमाडौं । पछिल्लो समय सेयर कारोबार मापक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले निरन्तर नयाँ नयाँ रेकर्ड राख्दै आएको छ । बुधबार नयाँ रेकर्ड राखेको परिसूचकले बिहीबार पनि दोहोरो अंकले बढेर अर्को नयाँ उचाईमा पुग्न सफल भएको छ ।
समग्रमा बिहीबारको नेप्से परिसूचक १६.३२ अंकले बढेर ३१७८.९१ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । सो दिन नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ ।
बजारमा एकैदिन २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुधबार १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा कूल २२५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अपर तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६२ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ८७३ रुपैयाँ रहेको छ ।
त्यसैगरी, विभिन्न ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
बिहीबार पाँचथर पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ३.९९ प्रतिशतले घटेर प्रतिकित्ता ५३० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २२ रुपैयाँले घटी हो ।


