
काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहास बोकेको बोइङ–७५७ जहाज बिक्री भएको छ । लामो समयको प्रयासपछि सो जहाज केही दिन अघिमात्र बिक्रीको सम्झौता भएको निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले केही दिनअघि मात्र अमेरिकी कम्पनीसँग जहाज बिक्रीको सम्झौता भएको जानकारी दिए । उनका अनुसार पूरानै मूल्य (५ दशमलव ४ मिलिनियन) नेपाली मूल्य करिब ६४ करोड २० लाखमा जहाज बिक्रीको सम्झौता भएको हो ।
जहाज बिक्रीको सम्झौता गर्न पौडेल स्वय अमेरिका जाने तयारीमा थिए । तर दोस्रो लहरको कोरोना संक्रमण र निगमकै कर्मचारीको आन्दोलनका कारण उनले वकिललाई अमेरिका पठाएर जहाज बिक्रीको सम्झौता गरेका हुन । सो सम्झौता अनुसार निगमले मेन्टेनेस गरेर जहाज अमेरिकी कम्पनी सीएफडीएसलाई हस्तान्तरण गर्नेछ ।
जहाज बिक्रीका लागि तीन पटक टेन्डर
नेपाल वायुसेवा निगमको ३४ वर्ष पुरानो बोइङ जहाज विक्रीका लागि तेस्रो पटक टेन्डर आह्वान गरेको थियो । पहिलो र दोस्रो टेन्डरमा जहाज खरिदका लागि कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले झण्डै आधा मूल्य घटाएर तेस्रो टेन्डर आह्वान गरेको थियो ।
पहिलो पटक प्रस्वात गरिएको मूल्यमा ३९ करोड ६ लाख ४७ हजार दुई सय २० रुपैयाँ कम गरी ४८ करोड ४५ लाख रुपैयाँमा गण्डकी नाम दिइएको ९ एन–एसीबी कलसाइनको बोइङ–७५७ जहाज विक्रीको टेन्डर आह्वान गरिएको थियो ।
बोइङ बिक्रिका लागि पहिलो र दोस्रो पटक ग्लोबल टेन्डर आह्वान गर्दा ८७ करोड ५१ लाख ४७ हजार दुई सय २० रुपैयाँ मूल्य तोकिएको थियो । यसमा कर जोडिएको थिएन् । जहाजको उडानयोग्य प्रमाणपत्रको म्याद सन् २०२० को फेब्रुअरीसम्म नै सकिएको छ ।
३४ वर्षे इतिहास
निगमले पहिलोपटक सन् १९८७ मा एउटा बोइङ किन्यो । त्यसको दुई वर्षपछि सन् १९८९ मा दोस्रो जहाज किनेको थियो । यही जहाजबाट विगतमा बेलायतको लण्डन, जर्मनीको फ्रैंकफर्ट र फ्रान्सको पेरिससम्म उडान विस्तार गरिएको थियो ।
जापान र चीनको सांघाइमा पनि नेपाल एयरलाइन्सले आफ्नो बलियो उपस्थिति जनाएको थियो । दुबई, ढाका, कराची र भारतीय शहरमा पनि नेपालले राम्रो व्यापारमा उडान गरेको थियो ।
निगमका अनुसार, सो जहाज खरिद गरेयता ८९ हजार चार सय ६२ घण्टा ३५ मिनेट अर्थात ३० हजार पाँच सय ३५ साइकल उडान गरिसकेको छ । यसको एउटा इन्जिन सन् १९८८ मे र अर्को सन् १९८७ मार्चमा निर्माण भएका थिए ।
सन् १९८७ सेप्टेम्बर १५ मा बनेको बोइङ निगमले कम्पनीमा निर्माण हुँदाहुँदै खरिद गरेको थियो। एक सय ९० सीट क्षमताको यो जहाज सन् २०१८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ।
निगमले वाइडबडी विमान खरिद गरेपछि बोइङ विमान विस्थापन गर्न सुरू गरेको थियो । सन् २०१५ मा पहिलोपटक दुई एयरबस न्यारोबडी जहाज भित्र्याएपछि भने पुराना जहाज विस्थापन गर्ने नीति लिएको हो ।
नयाँ थप गर्ने र पुराना जहाज हटाउने नीतिसँगै अहिले निगमसँग एयरबस कम्पनीका दुई न्यारोबडी ए३२०–२०० र दुई वाइडबडी ३३०–२०० जहाज उपलब्ध छन् ।
यसअघि अन्नपूर्ण नाम दिइएको अर्काे बोईङ बीबी एयरवेजले खरिद गरेको थियो । त्यो पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड छ ।


