
काठमाडौं । उखु किसानहरु उखुकाे बक्याैता उठाउन पुन: काठमाडाैं आउका छन् । गत वर्ष लामो आन्दोलन पश्चात उखुको बक्यौता रकम भुक्तानी गर्ने सरकारको आश्वासनपछि जिल्ला फर्किएका किसान सरकारले चासो नदिएको भन्दै फेरि काठमाडौं आएका हुन ।
सरकारले गत वर्ष गरेको बाचा पूरा नभएपछि पुनः काठमाडौंमा आउन बाध्य भएको किसानहरु बताउँछन् । ६ वटा चिनी उद्योगले ४१ करोड बढी रकम भुक्तानी नगरेको भन्दै भुक्तानीको माग गर्दै काठमाडौं आएका हुन ।
सर्लाही र नवलपरासीका उखु किसान फेरि काठमाडौं आएका छन् । हालसम्म रकम भुक्तानी नभएपछि ताकेका गर्न काठमाडौं आएको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिए ।
उनले सरकारलाई भदौ ५ गतेसम्म बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न समय दिइएको बताए । भदौ ५ गतेसम्म पनि रकम भुक्तानी नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।
उखु किसानहरूले गत वर्ष २८ मंसिरदेखि १३ पुससम्म काठमाडौंको माइतीघरमा आन्दोलन गरेका थिए । गत वर्ष ८९ करोड ४० लाख बक्यौता उठाउन नसकेपछि काठमाडौंकेन्द्रित रहेर आन्दोलन गरेका थिए ।
उखु किसानले ९० करोड बढी बक्यौता रकम भुक्तानी हुन बाँकी रहेको बताएपछि उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले ६६ करोड मात्र बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको थियो ।
किसानले रौतहटको श्रीराम सुगर मिलले ३५ करोड, सर्लाहीको अन्नपूर्ण सुगर मिलले ३० करोड र महालक्ष्मी सुगर मिलले ६ करोड तथा नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड, इन्दिरा चिनी मिलले ८ करोड र बागमती खाँडसरी चिनी मिलले ४० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको बताएका थिए ।
उखु किसानका संरक्षक राकेश मिश्रका अनुसार महालक्ष्मी सुगर मिलले यो वर्षको समेत गरी १२ करोड रुपैयाँ र अन्नपूर्ण सुगर मिलले समेत १२ करोड भुक्तानी दिन बाँकी छ । त्यस्तै, रौतहटको श्रीराम सुगर मिलले ३.१४ करोड बक्यौता रहेको छ ।
त्यस्तै, नवलपरासीका उखु किसान गोपाल यादवका अनुसार लुम्बिनी चिनी मिलले ३ करोड, इन्दिरा सुगर मिलले ४ करोड र बागमती खाँडसरी चिनी मिलले ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।


