२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?

banner

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

शपथग्रहण नगर्दै उनी काठमाडौंको फोहोर विसर्जन गरिने नुवाकोटको सिसडोल र वञ्चरेडाँडा पुगेर स्थलगत अवलोकन गरेका थिए भने आज उपमेयर सुनिता डंगोललाई समेत त्यहाँ लिएर गए ।

विभिन्न माग राखेर फोहोर विसर्जनमा अवरोध गरिरहेका स्थानीयवासीसँग मेयर बालेन्द्रले छलफल गरेका थिए । त्यस क्रममा स्थानीयसँग उनको चर्काचर्कीसमेत परेको थियो । केही स्थानीयवासी उत्तेजित रुपमा प्रस्तुत भएपछि बालेन्द्रले पनि कडा जवाफ दिएका थिए ।

उनले मेयरको कुर्सीमा बसे लगत्तै आफू फोहोरको समस्या समाधानमा लागिपरेको बताइरहँदा स्थानीयले होहल्ला गरे । आफूहरूको पुरानो माग समाधान नभएको उनीहरूको भनाइ थियो ।

बालेन्द्रले भने, ‘…म गइराको छु त । प्रधानमन्त्रीकोमा गएँ । आएको चार दिन भयो । मन्त्रीकोमा यही कुरा लिएर गएको छु । कि नजा भन्नु । कामै नगर भन्नु न त ।’

उनलाई रोक्दै एक स्थानीयले भन्छन्, ‘नजा भनेको छैन । तर, हामीले पाँच वर्षदेखि जनप्रतिनिधिलाई भनिरहेका छौँ…’

मेयर बालेन्द्रको जवाफ :

‘ए बाबा, पाँच वर्ष भएको छैन । तीन दिन, चार दिन मात्रै भयो क्या । चार दिन मात्रै भो । १७ वर्षको कुरा ममाथि लाद्नुहुन्छ ? मलाई काम गर्न त दिनुपर्‍यो नि । मलाई काम गर्न दिनुभयो भने काम हुन्छ । म स्वतन्त्र व्यक्ति हो । मलाई कुनै पनि पार्टीको केही पनि लाग्दैन । मैले साँठगाँठ कोहीसँग गरिराख्नु पर्दैन । कुनै पार्टीसँग सेटिङ पनि मिलाउनु पर्दैन ।’

उनले थपे :

‘मैले महानगरको मेयरको पद पनि लिइराख्नु पर्दैनथ्यो । पत्रिकामा देख्नु पनि भयो होला । ७०–८० बिघा के–के आइराख्या थ्यो । मैले यो जागिर पनि खाइराख्नु पर्दैनथ्यो । म इन्जिनियर हो । म आफ्नो काम गरेर बस्न सक्थेँ । साढे तीन लाख तलब खाइरहेको थिएँ ।

मैले कुनै पनि पार्टीसँग सेटिङ मिलाउनु पर्दैन । बुझ्नुभयो नि ? यो कुरा सबैले बुझिलदिनु परो । म स्वतन्त्र व्यक्ति हो । मलाई काम गर्न दिनुपर्‍यो । हप्ता दिनमा हुने कुनै काम छन् । एक महिनामा हुने कुनै काम छन् । ६ महिनामा हुने काम छन् । तपाईँहरूको जनप्रतिनिधिलाई मन्त्रालयमा कुरा गर्न वातावरण सहज गरिदिन्छु । त्यहाँ सम्झौता किन भएन गरिदिनुपर्‍यो भनेर हिजो पनि गएको थिएँ ।

हिजो गएर त थाहा भयो, अब यो आज टेन्डर खुल्दैछ । एउटालाई टेन्डर पर्छ त्यो १२ किलोमिटरको बाटोको । अर्को सिसडोलको कुराहरू छन् । दबाब दिने हो नि त । आज पनि मैले सडक विभाग, विद्युत् सबैलाई बोलाएको छु । समस्या समाधान गर्न म लागिपर्ने हो । म कुनै पार्टीको मान्छे होइन । मलाई कुनै पार्टीले अह्राउने, मलाई कसैले फोन गरेर केही पनि हुँदैन । काम गर्न दिनुपर्‍यो । त्यत्ति हो कुरा ।’

मेयरले यति भन्दा पनि स्थानीय शान्त भएनन् । झन् होहल्ला गर्न थाले ।

बालेन्द्रले भने, ‘तपाईंहरु रातभरि बोल्ने हो ?’

एक स्थानीयले मध्यस्थता गर्दै मेयरको कुरा सुन्न सबैलाई आग्रह गरे ।

उनले भने, ‘उहाँहरुले समस्या थाहा पाइसक्नुभएको छ । उहाँहरुको कुरा शान्त भएर सुनौं । चित्त बुझेन भने फेरि छलफल गरौंला ।’

त्यसपछि मेयरको साटो उपमेयर डंगोलले बोलिन् ।

उनको भनाइ यस्तो थियो :

हामी तपाईंहरुको आवाज सुन्न, समस्या सुन्न, वस्तुगतस्थिति अवलोकन गर्न आएका हौं । योभन्दा अघिपनि यहाँको जनप्रतिनिधिसँग कार्यकक्षमा बसेर कुरा गरेका छौँ । बिहानैदेखि कुरा सुनिरहेका छौँ तपाईंहरुको । हामीले विशेषगरी फोहोर-मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौँ । डे वान देखि आजसम्म विशेष ध्यान र प्राथमिकता नै यही हो । यसका लागि महानगरले हरेक तहका सरकारसँग गर्नुपर्ने समन्वय सहकार्यका लागि केही कार्य अगाडि बढाइसकेका छाैँ । महानगरभित्र पनि फोहोरमैला व्यवस्थापनका लागि कार्यदल बनाएका छाैँ । दिगोरुपमा यसको समाधान खोज्न पहल गरिरहेका छौं ।

उपमेयरपछि एक स्थानीय युवक आफ्नो पीडा ओकल्न थाल्छन् ।

…यो ठाउँमा फोहोर पारेपछि हाम्रो फ्यूचर हुँदैन । न हामी खेति किसानी गर्न सक्छौं । न कुखुरा पालन गर्न सक्छौं । हामी विजनेस पनि गर्न सक्दैनौं । म अहिले बीबीए गर्दैछु । बीबीए सकेर विजनेस गर्ने प्लानमा छु । त्यसका लागि पैत्रिक सम्पत्तिबाट ऋण ननिकालि हुँदैन । एक त यहाँको जमिन बिक्दैन । दोस्रो, बैंकले भ्यालुयसन दिँदैन । लोन कसरी लिने ? कसरी विजनेस गर्ने । कसरी अगाडि बढ्ने ? हाम्रो फ्यूचर नै छैन । हामीलाई राज्य, महानगर सबैले ढाँटेर झुलाइरहेका छन् । बाको पालादेखि नै । अबका दिनमा यहाँ फोहोर फाल्ने हो भने फोहोरको गाडी गाडी हाम्रो छातिमाथि चढाएर ल्याउनुपर्छ । ममात्र होइन, सबै जनता उठ्छन् । अहिले गुट बनाएर जनता–जनता भिडाउन खोजिएको छ । एक दिन खन्याउने, दुई दिन खन्याउने, अनि सँधै खन्यायने, त्यो सोचेको छ महानगरले र शहरी विकास मन्त्रालयले भने, राज्य र यहाँका टाउकोहरु जो फोहोरमाथि झिंगाजसरी भन्किएका छन्, तिनीहरुलाई कि मारिन्छ कि आफू मरिन्छ । खबरदार । जग्गा दलालहरु खबरदार ।

उनको कुरा सकिएपछि अर्का पाका व्यक्ति पनि उस्तै आक्रोशमा बोल्न थाले :

ब्रिटिस साम्राज्यले भारतमा तीन सय वर्ष राज्य गर्दा भारतीय जनताहरुले चुईंक्क नबोलि सडकमा बसेर साना नानीहरुले गरेको युद्दबाट सम्पूर्ण मिसायल हातहतियार पोटासियम साइनाइडहरु बोकेर ब्ल्याक सीको खाडीमा लगेको इतिहास मेयर र उपमेयरले बुझ्न जरुरी छ । त्यसो भएको हुनाले म के चाहन्छु भने हाम्रो आन्दोलन आमरुपमा धादिङ र नुवाकोटका आमजनताको जिन्दगीसँग गाँसिएको हुनाले… आजबाट एउटा माग थपिएको छ । तिनपिप्लेबाट यहाँसम्मको सम्पूर्ण बाटोको जमिनको पैसा नेपाली नागरिकलाई नगरपालिकाले भुक्तानी नगरेसम्म आजैका दिनबाट कुनैपनि फोहोरमैला बोकेको गाडी तिनपिप्लेबाट यता आउने छैन । त्यसकारणले हाम्रा माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहने घोषणा गर्दै मेरो वक्तव्य यहीँ टुंग्याउँछु ।

झमेला बढ्दै गएपछि कुनै निस्कर्षबिना मेयर र उपमेयर काठमाडौं फर्किएका छन् ।

ad

यो पनि पढौँ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

कोर्पोरट आवाज डट कम

माधव नेपालको योजना : प्रचण्डसँग पार्टी एकता, देउवासँग चुनावी तालमेल

कोर्पोरट आवाज डट कम

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

कोर्पोरट आवाज डट कम