२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

१५ प्रतिशत अन्तःशुल्क बढेपछि ड्राइ फ्रुट्सको मूल्य आकाशिन थाल्यो, किलोमै तीन सयसम्म बढ्न सक्ने

banner

काठमाडौं। आगामी वर्षको आर्थिक अध्यादेशबाट सरकारले ड्राइ फ्रुट्समा अन्तःशुल्क ५ प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएपछि बजार मूल्य थप उकालो चढ्न थालेको छ। 

आयातमा शतप्रतिशत मार्जिको व्यवस्थाको प्रभावस्वरुप एक महिनाअघि मात्र ड्राइ फ्रुट्सको मूल्य किलोमा दुई सय रुपैयाँसम्म महँगिएको थियो। 

अहिले पुनः अन्तःशुल्क वृद्धिका कारण यसरी नै किलोमै तीन सय हाराहारीसम्मले बढ्ने भएको व्यापारीहरुले बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ मा सार्वजनिक गरेको बजेटले विलासी उपभोग्य वस्तुमा कर वृद्धिको घोषणा गरेका थिए। सोही अनुरुप आर्थिक अध्यादेशबाट ड्राइफुट्समा अन्तःशुल्क बढाएका हुन्।

काजु, नरिवल, बदाम, ओखर, पिस्ता, मरिच, कालो मरिच लगायत ड्राइ फ्रुट्स तथा मरमसलामा प्रयोग हुने सामग्रीहरुको अन्तःशुल्क १५ प्रतिशत बढेको छ। यस्तै, दालचिनी र खुर्पानी लगायतमा १० प्रतिशत पुर्‍याएको छ। सुपारीमा पनि अन्तःशुल्क किलोमै एक सय रुपैयाँ बनाइएको छ।

यसअघि ड्राइ फुट्स आयातमा ५ प्रतिशत मात्र अन्तःशुल्क लाग्दै आएको थियो। कर वृद्धिको सरकारी निर्णयपछि पोषणका लागि उपभोक्ताले प्रयोग गर्ने गरेको ड्राइ फ्रुट्स आकाशिने भएको हो। यसरी केही महिनाकै अन्तरालमा ह्वातह्वाती मूल्य बढ्दा ड्राइ फ्रुट्स अब झन् आम उपभोक्ताको खाद्यवस्तुको सूचीबाट टाढा पुग्दै गएको छ। 

बजेट सार्वजनिक भएलगत्तै बजारमा ड्राइफ्रट्सको थोक मूल्य नै क्रमिक रुपमा बढ्न थालेको खुद्रा व्यापारीहरुले बताएका छन्। 

यसअघि चाडपर्वको समयमा मात्र ड्राइफ्रुट्सको माग र मूल्य बढ्ने गरेको थियो। कोभिडका कारण दुई वर्षदेखि बजारमा ड्राइफ्रुट्सको माग बढेको थियो। शरीरलाई तागत दिने खानेकुराका रूपमा उपभोक्ताले ड्राइ फ्रुट्सको प्रयोग गर्छन्। कोरोना संक्रमण घटेर जनजीवन सामान्य भएयताका केही महिनादेखि बजारमा ड्राइ फ्रुट्सको माग उच्च छैन। तर बिक्री मूल्य भने बढिरहेकोमा उपभोक्तामाथि खर्चको भार बढेको छ।

व्यवसायीका अनुसार युक्रेन र रुसबीच द्वन्द्वका कारण विश्व बजारमा थुप्रै प्रकारका खाद्यवस्तुको मूल्य र उपलब्धतामा प्रतिकूल प्रभाव परेको छ। यस क्रममा ड्राइ फ्रुट्सको भाउ तीन महिनाअघिबाट बढ्न थालेको थियो। त्यतिबेला प्रतिकेजी २ सय रुपैयाँसम्म बढेको मूल्य बजेटपछि पुनः त्यसमाथि चढ्दै गएको हो।

यसको मूल कारण अहिले एकैपटक दुई गुणाले (१० प्रतिशत) अन्तःशुल्क बढ्नु भएको सम्बन्धित व्यवसायीहरुको जिकिर छ।

मूल्य आकाशिदै जाँदा ड्राइ फ्रुट्सको व्यापार नै पनि पहिलेभन्दा घट्दै गएको भनाइ खुद्रा व्यापारीहरुको छ। यसरी माग कम भएको अवस्थामा सरकारले कर बढाएकाले थप महँगिने हुँदा ड्राइ फ्रुट्सको आयात नै अब घट्ने अवस्था आएको वीरगंज उद्योग वाणिज्य संघका कोषाध्यक्ष प्रेमचन्द्र गोयलले बताए। साथै, बजार माग पुरा गर्नका लागि अब कर तिरेर वैधानिक बाटोबाट आयात गर्नेभन्दा तस्करीको बाटो समाउने परिपाटी बढ्ने सम्भावना पनि बलियो बनेको उनको भनाइ छ।

‘आयात निरुसाहित गर्नका लागि सरकारले अन्तःशुल्क बढाएको हो। ड्राइफुट्स नेपालमा उत्पादन हुँदैनन्, भाउ बढ्नु स्वाभाविक हुन्छ,’ गोयल भन्छन्, ‘अन्तःशुल्क बढाउँदाको नकारात्मक असरले अब तस्करी बढ्नेछ।’

‘यसको मूल्य पनि केजीमा ३ सय रुपैयाँसम्म बढ्ने अनुमान छ,’ उनले भने, ‘पहिले एक केजीमा १५० रुपैयाँ अन्तःशुल्क रहेको वस्तुको अब ३९८ रुपैयाँ तिर्नुपर्ने भएपछि त्यो थप भार उपभोक्ता मूल्यमा पुग्छ।’ अन्तर्राष्ट्रिय बजारमा खासै महँगो नभएका वस्तुमा पनि सरकारले कर बढाउँदा बिक्री मूल्यलाई असर गर्ने गोयलले बताए।

अन्तःशुल्क बढाइएयता भन्सार तिरेर आयात गर्ने ड्राइ फ्रुट्सको परिमाणमा  कम हुँदै गएको उनीसहित अन्य व्यवसायीहरुको पनि भनाइ छ।

काठमाडौं, पोखरा र  चितवन लगायतका जिल्लाका शहरी क्षेत्रहरुमा ड्राइफ्रुट्सको माग उच्च छ भने दुर्गम जिल्लाहरुमा खपत नगन्य मात्रामा हुने गरेको छ। आय राम्रो भएका परिवारले उपभोग ज्यादा गर्ने यो खाद्यवस्तुको मूल्य यसरी चाँडोचाँडो महँगिदा उपभोक्ताले खरिद पनि घटाउने गरेको भनाइ व्यापारीहरुको छ।
    
अन्तःशुल्क बढ्दा ड्राइफ्रुट्स महँगिएर आउने खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए। बढेको अन्तःशुल्क अनुसार ड्राइ फ्रुट्सको मूल्य प्रतिकेजी २ सय रुपैयाँसम्म वृद्धि हुने उनको भनाइ छ।

अहिले बजारमा काजु प्रतिकेजी १५ सय र ओखर ५ सय ५० रुपैयाँ छ। अब भने यसमा मूल्य बढेर आउनेछ। यद्यपि, यतिबेला अफ सिजनजस्तै रहेकाले खपत कम हुँदा व्यवसायीहरुले पुरानै मूल्यमा ड्राइ फ्रुट्स बिक्री गर्न वाध्य रहेको गोयल बताउँछन्। 

यसअघि पनि यस्ता वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको प्रावधानले बजार मूल्यमा असर परेकै थियो। पहिल्यै आएर स्टकमा रहेकाको मूल्यमा धेरै नबढ्ने भए पनि अब आयात भएर आउने ड्राइ फ्रुट्स बजारमा पुग्दा भने मूल्यमा फरक परेको देखिने तुलाधरले बताए।

व्यवसायी दुर्गाराज श्रेष्ठ पनि तत्काल बजार भाउमा खासै असर नदेखिए पनि अब विस्तारै बढ्ने बताउँछन्। ‘मूल्यवृद्धि हुने सम्भावना धेरै छ।खल्तीमा पैसा हुनेले मात्र ड्राइफ्रुट्स किनेर खाने अवस्था आयो,’ उनले भने, ‘ड्राइफ्रुट्सको मूल्य बढेको थाहा पाउन अहिले भन्दा चाडपर्व नै पर्खनुपर्छ।’ 

ad

यो पनि पढौँ

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई ५ लाखसम्मका शैक्षिक कर्जा दिने

कोर्पोरट आवाज डट कम

यस वर्षकाे बाढीपहिराले आठ आयोजनामा क्षति

कोर्पोरट आवाज डट कम

गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

कोर्पोरट आवाज डट कम