५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

banner

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।

निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।  

आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए ।

हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । 

उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए ।

मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ । 

आयोगका प्रवक्ता पौडेलले कार्यालयमै गएर दर्ता गर्नुपर्ने प्रक्रिया अन्त्य भएपछि नागरिकले ठूलो राहत पाउने विश्वास व्यक्त गर्दै भने, ‘तर प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा पुग्नैपर्छ ।’

आयोगको सूचना प्रविधि शाखाका उपसचिव आदेश खड्काले केही दिनभित्रै नामावली दर्ता सफ्टवेयर सञ्चालनमा आउने जानकारी दिए । सफ्टवेयरका लागि आयोगले करिब १७ लाख रुपियाँ खर्च गरेको छ ।  

छ घण्टा कुराइ

हाल नामावली दर्ता गराउन पुगेका नागरिकले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ । आयोगले असार १ गतेबाट नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौँसहित प्रमुख सहर र तराई मधेशका जिल्लास्थित प्रशासन र निर्वाचन कार्यालयमा नामावली दर्ता गराउने चाप निकै बढेको छ ।

यसले गर्दा ती निकायलाई भीड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ । काठमाडौँको अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दैनिक पाँच सयदेखि सात सय व्यक्तिले नामावली दर्ता गराउँदै आएका छन् तर समयमै नपुगे दर्ता फारामसमेत नपाउने अवस्था छ । 

बिहीबार बिहानै साढे ८ बजे काठमाडौँको जिल्ला प्रशासन कार्यालय पुग्नुभएकी जमुना गुरुङले छ घण्टा लाइनमा उभिएर नामावली विवरण बुझाए । उनले भने, ‘प्रशासन कार्यालय हाताभित्रै व्यवस्थित भएन । दुई घण्टा कुरेपछि फारामका लागि टोकन पायौँ । चार घण्टा लाइनमा उभिँदा दर्ता भयो ।’ निर्वाचन कार्यालय काठमाडौँमा सात कर्मचारी कार्यरत छन् । 

इलाका प्रशासन कार्यालय साँखु र फर्पिङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्ला निर्वाचन कार्यालय गरी पाँच स्थानमा नामावली दर्ता हुँदै छ । ‘थप जनशक्तिका लागि आयोगसमक्ष दुई पटक पत्राचार गरेका थियौँ तर जनशक्ति थपिएको छैन । कर्मचारी थपिए सेवाग्राहीको चाप बढे पनि व्यवस्थित रूपले नामावली सङ्कलन हुन सक्थ्यो,’ निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताए । गोरखापत्र

ad

यो पनि पढौँ

नेपालमा काेरोनाः आज आयो ४२ जनाको रिपोर्ट

कोर्पोरट आवाज डट कम

स्वास्थ्य बीमाको नवीकरण शुल्क कनेक्ट आइपिएसबाटै भुक्तानी गर्न सकिने, कसरी गर्ने भुक्तानी ?

कोर्पोरट आवाज डट कम

मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

कोर्पोरट आवाज डट कम