
काठमाडौँ- देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरू सबैको मंगलबार मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका-२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेका बेला चट्याङ लागेर मृत्यु भएको छ ।
नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका-१० लक्ष्मीपुरामा खेत रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर बेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कागलुङको काठेखोला गाउँपालिका-४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका-३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरुषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ बेलगाउँका ४२ वर्षीय एक पुरुषको गोठमा गाइलाई घाँस हाल्न जाने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया एक महिलाको खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएकी उनको उपचारको लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका-३ मा चट्याङ लागेर दुई जना पुरुष घाइते भएका छन् । यस्तै, कञ्चनपुरको लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने १३ वर्षीया बालिकाको घरको आँगनमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् ।