
उदयपुर र चितवनमा गरी आज एकै दिन १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो संख्या नेपालमा एकै दिन देखिएको सबैभन्दा धेरै हो । यो संगै कुल संक्रमितको संख्या ३० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार संक्रमित १२ जना त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषहरु हुन् । यस्तै चितवनमा पोजेटिभ देखिएका दुई जना पनि पुरुष नै हुन् । उनीहरुको उमेर २७ र ६३ छ ।
संक्रमित १२ जना त्रियुगा नगरपालिका – ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए । त्यहाँ १६ जना रहेछन् । तीमध्ये कति नेपाल कति भारतीय भन्ने अझै एकीन भएको छैन ।
‘स्थानीयहरुले ४ जना नेपाली र १२ जना भारतीय भएको बताएका छन् । त्यसैले संक्रमित अधिकांश भारतीय भएको बुझिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

टेकुबाट पोजेटिभ भएको पुष्ट भए लगत्तै उनीहरुलाई अहिले विराटनगर तर्फ ल्याइएको छ । सो एरियालाई सिल गरिएको छ । भोलि विहानैबाट स्थानीय तहमा सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी भएको बताइएको छ ।


