
वासिंटन : कोरोना भाइरसको फैलँदो महामारीविरुद्ध चीन र अमेरिका सँगै मिलेर काम गर्न सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनफिङलाई महामारीको विषयलाई लिएर टेलिफोन गरेका थिए । छलफलपछि उनीहरु अझै नजिक मिलेर काम गर्न तयार भएको बताएका हुन् ।
टेलिफोन कुराकानीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत पनि सीसँग महामारीबारे खुलेर कुरा गरेको बताए । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘चीनले भाइरसबारे कडा समझदारी विकास गरेको छ । हामी सँगै मिलेर काम गरिरहेका छौँ । धेरै सम्मान ।’
जी २० राष्ट्रहरुबीच भिडिओ सम्मेलनपछि ट्रम्पले सीलाई फोन गरेका हुन् । उक्त अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा नेता सीले अन्तर्राष्ट्रिय सहकार्यको लागि आह्वान गरेका थिए । कोरोना भाइरसका कारण विश्वभर २४ हजारको मृत्यु भइसकेको छ । जुन पहिलो पटक २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । अहिलेसम्म चीनमा मात्रै ३ हजार भन्दा धेरेको मृत्यु भइसकेको छ ।
तर चीनले संक्रमण फैलनबाट नियन्त्रण गरिसकेको छ । ट्रम्पसँगको वार्ताको क्रममा कोरोनाको विश्वव्यापी महामारीबाट निम्तिएको परिस्थितिविरुद्ध चीन र अमेरिका मिलेर काम गर्नुपर्ने चिनियाँ नेता सीको पनि धारणा रहेको बताइएको छ ।
सी ट्रम्प वार्तामा चिनियाँ पक्ष अमेरिकालाई सूचना र अनुभव बाँड्न इच्छुक रहेको सीको प्रतिक्रिया थियो । सीले पनि अमेरिकामा रहेका थुप्रै चिनियाँ विद्यार्थीहरुको स्वास्थ्य र जीवन रक्षा गर्नेमा आशा व्यक्त गरेका थिए ।
दुई शक्तिशाली देशका नेताबीच यसअघि जनवरीमा व्यापारयुद्धको आंशिक समाधानपछि टेलिफोनमा कुराकानी भएको थियो । हाल विश्वव्यापी रुपमा उत्पन्न तनाबलाई लिएर टेलिफोनमा कुराकानी भएको हो ।


