
सबै अस्पतालमा ६० बेडको आईसीयू छुट्याइसकेको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहालले बताए । ‘हामीले उपचार गर्दैनौं भनेका छैनौं,’ उनले भने, ‘सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीको मनोबल बढेको छैन, बजारमा मास्कसमेत पाइँदैन, पीपीई त टाढाको कुरा ।’
ज्वरो क्लिनिकमा बिरामी जाँच्ने चिकित्सक, शंकास्पद बिरामीका नमुना परीक्षणका लागि स्वाब निकाल्ने स्वास्थ्यकर्मी र आइसोलेसनका लागि आवश्यक सामग्री अभावमा काम गर्ने उत्साह नभएको चिकित्सकहरूको गुनासो छ । अहिले कतिपय अस्पतालले आफ्नै ढगंले स्थानीय मास्कदेखि पीपीई बनाएर काम गरिरहेका छन् । अनिवार्य रूपमा ज्वरो क्लिनिक राखेर बिरामी नफर्काउन सरकारले तोकेका नौ हब अस्पताललाई अफिनले निर्देशन दिइसकेको महासचिवव दाहालले बताए । ‘कुनै अस्पतालले ज्वरोका बिरामी हेर्दिनँ भनेर रिफर गर्न पाउँदैन,’ उनले भने, ‘शंकास्पद भए टेकुमा स्वाब पठाउनुपर्छ र सम्भव भएसम्म निमोनिया र ज्वरोको आफैं उपचार गरेर मात्रै अन्यत्र पठाउनुपर्छ ।’ एक सय बेडभन्दा माथिका अस्पतालले पाँच बेड छुट्याउनैपर्ने उनले बताए ।


