
अन्नपूर्ण मिडिया हाउसबाट सामूहिक राजीनामा दिएका श्रमजीवी पत्रकारले २०७६ साल चैतदेखिकाे तलबभत्ता अझै नपाएको गुनासो गरेका छन् । पीडित पत्रकारहरूले विज्ञप्ति जारी गरी आफूहरूले दुई वर्षकाे तलब नपाएको बताएका हुन् ।
उनीहरूले मिडिया हाउसमा रहँदा काममा लगाउने तर नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराउने, त्याे पनि समयमै नपाउने, बिनाकारण सेवाबाट बाहिरिनुपर्ने, सेवाबाट हटाउन पायक नपर्ने ठाउँमा सरुवा गरिदिने, अवकाशपछि हककाे सेवा सुविधा नदिनेजस्ता समस्या भोग्नुपरेकाे बताएका छन् ।
अन्नपूर्ण मिडिया हाउसमा अहिले काम गरिरहेका पत्रकारहरूको समेत प्रेस पास नवीकरण नभएको उनीहरूकाे दाबी छ । त्यस्तै, तलबभत्ताबाट काटिँदै आएको रकम टीडीएस कम्पनीको तर्फबाट सम्बन्धित कर कार्यालयमा दाखिला नगरिएको र तलबमानबाट कट्टा गरिएको सञ्चयकोषको रकम सञ्चयकोष खातामा जम्मा नगरिएको गुनासाे उनीहरूकाे छ ।
‘यी समस्या समाधानका लागि २१ माघ २०७७ मा हामीले अन्नपूर्ण पोस्टका सम्पादकलाई अनुरोधपत्र बुझाएका थियौँ’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, तलबभत्ताको भुक्तानीका लागि लिखित अनुरोधपत्र बुझाएका हामी श्रमजीवी पत्रकारहरूलाई उपहारस्वरुप राजीनामाका लागि दबाब दिन थालियो ।’
त्यसपछि श्रमजीवी पत्रकारहरूलाई २०७७ फागुन २० गते सम्पादक अखण्ड भण्डारीले आफ्नो कार्यकक्षमा बोलाई सामूहिक राजीनामा दिन दबाब दिएको उनीहरूको भनाइ छ । पत्रिका बन्द गर्ने सूचना मौखिक रूपमा सम्पादकले दिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूका अनुसार त्यसलगत्तै २०७७ फागुन २५ गते अन्नपूर्ण मिडिया हाउसका सीईओ मानस घिमिरेमार्फत पत्रिका बन्द गर्न लागिएकाले सम्पूर्ण श्रमजीवीहरूलाई राजीनामा दिन पुनः दबाब दिइयो । त्यस समय पत्रिकाका सम्पादक अखण्ड भण्डारी र अन्नपूर्ण पोस्ट डककमका सम्पादक विष्णु सुवेदी पनि उपस्थित थिए । तर, त्यहाँ उपस्थित श्रमजीवी पत्रकारहरूले आधिकारिक सूचना निकाल्न अनुरोध गर्दा बजारमा रकम फसेकाले लिखित सूचना ननिकाली यसैलाई आधिकारिक मान्न दबाब दिएका थिए ।
पटक–पटकको दबाबपछि संयुक्त राजीनामापत्र बुझाएको उनीहरू बताउँछन् । तर, कम्पनीले राजीनामापत्र स्वीकृत गरे पनि सेवा सुविधा दिन भने इन्कार गरेको उनीहरूको गुनासाे छ । यसअघि नेपाल पत्रकार महासंघमार्फत पाउनुपर्ने तलबभत्ता दाबी गरिरहेका उनीहरूले अहिले सञ्चार विभागमा निवेदन दिएका छन् । त्यसबाट पनि कुनै निकास ननिस्किए अन्य कानुनी बाटाहरू अबलम्बन गर्ने उनीहरूले बताएका छन् ।
कुनै सम्बोधन नभए सडकमा उत्रने चेतावनी दिएका उनीहरूको माग यस्तो छ :
१. कुनै पनि मिडिया हाउसभित्र काम गर्ने श्रमजीवी पत्रकारहरूलाई समान व्यवहार गरियोस् ।
२. अन्नपूर्ण पोस्टमा कार्यरत श्रमजीवी पत्रकारहरूको २०७६ चैतयताको भुक्तानी हुन बाँकी सम्पूर्ण तलबभत्ता, चाडपर्व भत्तासमेत भुक्तानी होस् ।
३. दबाबपूर्ण अवकाशबाट बाहिरिएका हामी श्रमजीवी पत्रकारहरूलाई दिनुपर्ने सेवा सुविधा– क्षतिपूर्ति, उपदान, सञ्चयकोष, घरबिदा र बिरामी बिदाको रकम तत्काल उपलब्ध गराइयोस् ।
४. प्रत्येक वर्ष एक महिनाको तलबबराबर उपचार खर्च सुविधा दिनुपर्नेमा आजसम्म पनि नदिइएकाले प्रत्येक वर्षका लागि हिसाबमा हुन आउने सम्पूर्ण रकम उपलब्ध गराइयोस् ।
५. दबाबपूर्ण अवकाशपछि सेवा सुविधाको रकम पूर्ण भुक्तानी नहुँदाको दिनसम्मको तलबभत्ता भुक्तानी गरियोस् ।
६. हाम्रो तलबमानबाट कट्टा गरी राखिएको तर सम्बन्धित खातामा जम्मा नगरिएको टीडीएस रकम र सञ्चयकोषको रकम अविलम्ब खातामा जम्मा गरियोस् ।
७. टीडीएस भुक्तानी र प्रेस पास नवीकरण नभएका कारणले पुग्न गएको क्षतिको समेत क्षतिपूर्ति माग यस विज्ञप्तिमार्फत गरिएको छ ।


