५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
धर्म–संस्कृति समाचार

अझै बनिसकेनन् चाँगुनारायण वरपरका सत्तल

banner

पुरातत्व विभागको अलमलका कारण विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर वरपरको सत्तल निर्माण अवधि लम्बिँदै गएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको मन्दिर वरपरको सत्तलको पुनःनिर्माण २०७५ चैत २२ बाट सुरु भएको थियो । तर, अझै सत्तलको आधा काम पनि पूरा भएको छैन ।
वर्षाले क्षय हुनसक्ने काठलगायत निर्माण सामग्री मन्दिर परिसरमा असरल्ल राखिएको छ । साढे दुई वर्षको अवधिमा भर्खर झन्डै आधा काम हुँदै गरेको सत्तल वर्षाबाट जोगाउन कुनै बन्दोबस्त नहुँदा निर्माण कमसल हुने देखिएको छ । “त्रिपालले छोप्नुपर्ने हो, तर त्यसो गरिएको छैन”, चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।


निर्माण कार्य लम्बिनुमा पुरातत्व विभागकै दोष देख्नुहुन्छ–पुजारी राजोपाध्याय । “पुरातत्व विभागले बनाएको नक्सा यहाँको स्थलगत अवस्थासँग मिल्दैन । अनि ठेकेदारले बनाइसकेको सत्तलको भाग पनि पटक – पटक भत्काउँदै, बनाउँदै गरिएको छ । व्यक्तिको घर बनाउँदा नक्सामा दुई इन्च नमिल्दा फाइल अघि बढ्दैन । अनि सम्पदा पुनःनिर्माणको निम्ति के ठीक ढङ्गले नक्सा बनाउनु पर्दैन ?”, उहाँले भन्नुभयो ।
मन्दिरको मूलद्वारसामुको पुजारी बस्ने सत्तल पनि भूकम्पले पूर्ण क्षति भएको छ । तर, सुरुमै बनाउने भनिएको सो सत्तल भने सबभन्दा पछि बन्ने भएको छ । “पुजारी बस्ने सत्तल सुरुमा बनाउने मौखिक सहमति भएको थियो । तर, अहिले अरू सत्तल बन्दै छ । पुजारीको सत्तल सबभन्दा ढिलोमात्र बन्ने भएको छ”, पुजारीले भन्नुभयो ।पुजारी बस्ने सत्तलबाहेक मन्दिरको मूलद्वारअघि रहेको पूर्वाभिमुख सत्तलदेखि उत्तरमा रहेको दक्षिणाभिमुख सत्तल र पूर्वमा रहेको पश्चिमाभिमुख सत्तल (सबै जोडिएको) सबै एकैचोटि भत्काएर बनाउन थालेकोले पनि पुनःनिर्माण कार्यमा विलम्ब भएको हो ।

खण्ड खण्डमा विभाजन नगरी पूरै सत्तल एकैचोटि भत्काएर एकैचोटि बनाउन खोज्दा कुनै पनि भागले पूर्णता पाएको छैन । एकैचोटि पूरै सत्तल बनाउन भनी पुरानो संरचना भत्काउँदै मन्दिर परिसरबाट पुरातात्विक र धार्मिक महत्वका केही मूर्तिहरूसमेत हराएको पुजारी राजोपाध्यायले बताउनुभयो । हराएको एउटा मूर्ति स्थानीयले भेटाएर ल्याई अहिले सत्तलमा प्रतिस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।
विभागले बनाएको नक्साअनुसार सत्तल बनाउँदा साविकस्वरुपमा परिवर्तन भएको छ । पहिलेको साविक सत्तलमा झ्याल रहेको ठाउँमा अहिले ढोका बनाइएको छ । यसरी सम्पदा पुनःनिर्माणमा साविकस्वरुप बदल्नु नियमविपरीत हुन्छ ।
ऐतिहासिक मन्दिर वरपरको सत्तल पुनः निर्माणको लागि पुरातत्व विभागले स्थलगत कार्यालय नै स्थापना गर्ने निर्णय गरेको थियो । तर, निर्माण कार्य सुरु भएको झन्डै साढे दुई वर्ष बितिसक्दा पनि त्यस्तो कुनै कार्यालय स्थापना भएको छै्रन । बरु ठेकेदारले पनि पेटी ठेकेदारलाई काम लगाउँदा पुनःनिर्माण कार्यमा थप अन्योल र जिम्मेवारीविहीनता बढेको छ ।

संरक्षणको अभावमा ऐतिहासिक शिलालेख
नेपालमै सबभन्दा पुराना शिलालेखमध्येमा पर्ने चाँगुनारायण मन्दिरको शिलालेखलगायत त्यहाँका अन्य प्राचीन सम्पदा उचित संरक्षणको प्रतिक्षामा छन् । लिच्छविकालीन राजा हरिदत्त बर्माले बनाउन लगाएको मन्दिरमा मानदेवकालीन ऐतिहासिक शिलालेख र मल्लकालीन अभिलेखहरूको उचित संरक्षण हुन सकेको छैन । कतिपय शिलालेखहरूमा ढुङ्गे पत्र उप्किएर पढ्न नसकिने अवस्थामा पुगेको छ । वर्षा र घामबाट हुने क्षय रोक्न कुनै व्यवस्था हुन सकेको छैन । हजारौँ वर्ष पुराना प्रस्तर मूर्तिहरूमा भक्तजनहरूले रसायनयुक्त अबिर र धुप बत्ती बाल्दा तिनको आकृति बिग्रँदै गएको छ ।


“भक्तजनहरूले मनपरी धुप बत्ती बाल्ने र अबिर छर्किंदा मूर्ति र अन्य ढुङ्गाका आकृति मैलो र मौलिक स्वरुप नै बिग्रिँदै गएको छ”, पुजारी राजोपाध्यायले दुःखेसो पोख्नुभयो ।
चाँगुनारायणको ऐतिहासिकतालाई ध्यानमा राखी सरकारी निकायले अलगै विकास समिति वा कोष स्थापना गरी समग्र चाँगुनारायण क्षेत्रको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।
“त्यसो गर्नसकेमात्र मन्दिर, वरपरका मन्दिरसँग जोडिएका अन्य सांस्कृतिक सम्पदा, चाँगुनारायण बस्ती र इतिहासको संरक्षण हुनेछ । नेपालको इतिहासमा चाँगुनारायणको आफ्नै महत्व छ”, राजोपाध्यायले भन्नुभयो ।


दोस्रो शताब्दी (३२३ ईस्वी संवत्) मै बनेको चाँगुनारायणको मन्दिर ई. सं १७०२ मा पुनःनिर्माण गरी हालको स्वरुपमा बनाइएको इतिहासकारहरू बताउँछन् । Source ( Online Majdoor)

ad

यो पनि पढौँ

३ जनाले जिते कोरोना,डिस्चार्जपछि बागलुङकी वृद्धा खुसी हुँदै घर गइन्

कोर्पोरट आवाज डट कम

रअले नेपालको राजतन्त्र फ्याँकेको रअका पूर्व विशेष निर्देशकको खुलासा

कोर्पोरट आवाज डट कम

नयाँ स्कोर्पियो लन्च हुँदै

कोर्पोरट आवाज डट कम