
नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार एक कार्यक्रममको योजना गर्दै नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । नबिल दीगो बैंक अन्तर्गत किसान र साना तथा मझौला उद्यमीहरुको विकासका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने बैंकको विश्वास छ ।
नबिल दीगो बैंकका म्यानेजर लिला प्रसाद ओझाले यो कार्यक्रम मार्फत देशको अर्थतन्त्र सुदृढिकरण र दीगो बैंकिङलाई अगाडि बढाउन महत्वपू्र्ण काम गर्ने बताए ।
बैंकले नबिल दीगो बैंक अन्तर्गत दुई प्रडक्ट सार्वजनिक गरेको छ । यस अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमी कर्जा रहेका छन् । यी कर्जामार्फत किसान र नयाँ उद्यमीहरुले धेरै लाभ लिन सक्ने ओझाले बताए ।
स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउने, वित्तीय साक्षरता बढाउने, कृषिमा उत्पादित वस्तुलाई बजारिकरण गर्ने र उद्यमीको विकास गर्नको लागि सोही क्षेत्रमा रहेका नबिल बैंकका शाखाहरु मार्फत यी कार्यक्रमहरुको लागु गर्ने उनको भनाई छ । यसले ग्रामिण भेगका मानिसहरुको जीवनस्तरमा पनि सकारात्मक सुधार हुने अपेक्षा बैंककाे रहेकाे सुनाए ।
उनका अनुसार यी कार्यक्रमका लक्षित वर्गहरु व्यक्ति, किसान र विभिन्न समूहहरु हुन् । नबिल किसान कर्जा र उद्यमी कर्जा कार्यक्रमका मुख्य प्राथमिकताका क्षेत्र खाद्यजन्य वस्तु, फलफूल, तरकारी, विउविजन र विभिन्न उपकरणमा सहजिकरण लिने हाे ।
उद्यम कर्जा अन्तर्गत हाल कायम रहेका नयाँ उद्यमलाई विशेष प्राथमिकतामा राखेर नयाँ साना तथा मझौला र ठूला उद्यमीहरुलाई मुख्यकाे विकासका लागि महत्वपूर्ण काम गर्ने उनको भनाई छ । उनका अनुसार कृषि, उर्जा, उत्पादन र सेवा क्षेत्र यी कर्जाका मुख्य क्षेत्र हुन् ।
कर्जाको आकार कति ?
किसान र उद्यम कर्जा अन्य कर्जाहरु भन्दा फरक भएको उनको भनाई छ । उनले यी कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँसम्म बिनो धितो कर्जा पाउन सकिने पनि बताए ।
उनले गाडी बाटो नभएका क्षेत्रको धितो कर्जामा पनि २० लाख रुपैयाँसम्म राखिने उनको भनाई छ । ‘हामीले किसान कर्जा अन्तर्गत व्यक्तिगत रुपमा १० लाख, किसानलाई २५ लाख रुपैयाँ र समूहगत रुपमा ५ लाख रुपैयाँ कर्जा प्रदान गर्नेछौं, यस्तै उद्यम कर्जा अन्तर्गत १ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्न सकिन्छ,’ ओझाले भने ।
उनका अनुसार कृषिका लागि सर्ट टर्म कर्जा अन्तर्गत १ वर्ष र लङ्ग टर्म अन्तर्गत ५ वर्षको समय तोकिएको बताए । उनका अनुसार नबिल उद्यम कर्जा अन्तर्गत कर्जाको अवधि १ वर्षदेखि ८ वर्षसम्म तोकिएको छ ।
नबिल दीगाे बैंकको विशेषता
देशमा नयाँ उद्यमीको विकास र किसानले उत्पादन गरेको वस्तु बजारिकरण गराउनको लागि यो कार्यक्रम प्रभावकारी बन्ने नबिल बैंकको दावी छ ।
‘यो कार्यक्रम अन्तर्गत ऋणीको परियोजना अनुसारको ऋण उपलब्ध गराउने, विशेष गरेर १७ वटा ग्रामिण शाखालाई फोकस गरेर जाने , १५ लाखसम्मको बिनाधितो ऋण पाइन सक्ने, मोटरबाटो नभएको जग्गाको ठाउँमा पनि २० लाख रुपैयाँसम्म ऋण दिन सक्ने र ग्रामिण क्षेत्रमा दीगो विकास गर्नमा यो कार्यक्रमले महत्वपूर्ण भूमीका खेल्छ,’ उनले भने ।
अन्य कार्यक्रमभन्दा फरक
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह नबिल दीगो बैंक अन्य कार्यक्रमभन्दा धेरै फरक भएको बताउँछन् ।
‘कुन क्षेत्रमा के कस्तो सम्भावना, कसमा के कस्तो सीप छ, उहाँहरुको आवश्यकता के छ सोही आधारमा ऋण प्रदान गर्छौं, आवश्यकता पहिचान गरेर उनीहरुलाई वित्तीय साक्षरता दिने काम पनि गर्छौं, हामीले परियोजनाका लागि पाटर्नर पनि खोज्ने काम गरिरहेका छौं,’ शाहले भने ।
प्रडक्ट बजारमा गएसकेपछि ऋणको प्रभाव ग्राहकमा के कस्तो छ ? दीगो विकासमा के कस्तो सहयोग गरेको छ ? भन्ने विषयमा पनि बैंकले अध्ययन र मूल्यांकन गर्दै जाने पनि उनको भनाई छ ।
देशका १७ शाखा छनाेट
नबिल बैंक लिमिटेडले नबिल दीगो बैंकका लागि देशभरका १७ वटा शाखालाई छनोट गरेको छ । बैंकले प्रदेश एकको हिले, बागमती प्रदेशका गजुरी, पनौती, गल्छी र पाँचखाल शाखाहरु छनोट गरेको छ ।
यस्तै, लुम्बिनी प्रदेशको सम्मरीमाईँ, कर्णाली प्रदेशको बराहताल, तीला, डारमा, पाँचलझरना शाखालाई तय गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेश अन्तर्गत आलीताल, बिथ्थडचिर शाखा, पञ्चेश्वर, रामाराेशन, सायल र तुर्माखाद शाखालाई छनोट गरेको छ । यी विभिन्न शाखा मार्फत कर्जा प्रवाह हुने बैंकको भनाई छ ।
सीईओ शाहले अर्थतन्त्रको मेरुदण्ड एसएमई नै भएकोले देशमा एसएमईको विकासका लागि नबिल बैंक सधैँ अगाडि रहेको बताउँदै यस कार्यक्रमले पनि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
किसान कर्जा मार्फत उनीहरुले उत्पादन गरेको वस्तु बजारिकण गर्ने, उपकरणको सहज उपलब्धतताको व्यवस्था गर्ने लगायतका काममा सहजिकरण पनि बैंकले गर्ने बताउँदै उनले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका रुपमा यो कार्यक्रा कोसेढुङ्गा सावित हुने उल्लेख गरे ।
सीटीईभीटीबाट १ सय जना उद्यमी जन्माउने
बैंकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट एक सय जना नयाँ उद्यमी जन्माउने योजना लिएको छ । आज आयोजित कार्यक्रममा सीटीईभीटी र बैंकबीच पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सीटीईभीटी क्षेत्रमा राम्रो सीप भएका युवाहरुलाई कर्जा उपलब्ध गराउनका लागि सीटीईभीटी र बैंकबीच मंगलबार सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्य सचिव जिव नारायण काफ्लेबीच आज सम्झौता भएको हो ।
काफ्लेले हालसम्म विद्यार्थीहरुलाई व्यवसायिक तालिम र प्राविधिक शिक्षा दिँदै आएको भएपनि लगानी अभावको कारण धेरै विद्यार्थीहरु सीप नै थाति राखेर बस्नु पर्ने बाध्यता भएको बताउँदै नबिल बैंकको यो प्रयासले धेरै नयाँ उद्यमीहरु जन्माउन महत्वपूर्ण भूमीका खेल्ने बताए । सीप सिकेर पनि रकमको अभावमा व्यवसायमा लाग्न नसेकाहरुका लागि यो कार्यक्रम कोसेढुङ्गा बन्ने फाफ्लेको भनाई छ ।


