
सरकारले साउनदेखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने तयारी गरेको छ । नयाँ दर्ता हुन आउने र नवीकरणका हुने पुराना सवारीमा अनिवार्य जडान गर्ने व्यवस्था गर्न तयारी शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
पटक–पटकको विवाद र बहसपछि विभागले २०७७ माघ महिनाबाट फेरि सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड प्लेटको जडान सुरु गरेको थियो । सरकारी नम्बर प्लेटका सवारीलाई भने विभागले चैतसम्म इम्बोस्ड प्लेट जोडिसक्न समयसीमा दिएको थियो ।
विभागले नामाकरण भइसकेका प्रदेशहरुमा इम्बोस्ड जडानको तयारी अघि बढाएको हो । अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कणरली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ । प्रदेश १ र २ को नाम भने टुंगिन बाँकी छ ।
सरकारले इम्बोस्ड प्लेट जोड्न दुईपांग्रेको हकमा २५ सय, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । यो शुल्क महँगो भएको गुनासो आएपनि विभागले यही शुल्क कायम रहने बताएको छ ।


