
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेपछि नेपाल आयल निगमको नोक्सानी १५ दिनमै १ अर्ब नाघेको छ।
इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको मूल्य अनुसार निगमलाई १ अर्ब १० करोड नोक्सानी देखिएको छ। यो पनि निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको माग कम भएर हो।
सामान्य समय अनुसार पेट्रोलियमको खपत भएको भए यो नोक्सानी १५ दिनमै २ अर्बको हाराहारीमा पुग्थ्यो। आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा निगमलाई लिटरमा ९ रुपैयाँ ९ पैसा नोक्सानी छ।
डिजलमा लिटरमा ६ रुपैयाँ १ पैसा नोक्सानी छ भने ग्यास एक सिलिण्डरमा ३ सय ४० रुपैयाँ नोक्सानी छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य आकासिँदा निगमको वित्तीय संकटमा पर्न थालेको बताए।
‘निषेधाज्ञाले पेट्रोलियम पदार्थको खपत ५० प्रतिशत मात्रै हुँदा निगमको नोक्सानी १ अर्ब १० करोड छ। खपत पुरानै लयमा फर्किएमा नोक्सानी दुई अर्ब नाघ्छ,’ उनले बिजमाण्डूसँग भने। निगमका अनुसार जुन महिनामा पेट्रोल ३९ हजार किलोलिटर पेट्रोल र डिजल १ लाख ३२ हजार किलोलिटर आयात भएको छ।
कोभिड अघि पेट्रोलको आयात ५६ हजार किलोलिटर र २ लाख ३ हजार किलोलिटर डिजल आयात भएको थियो। उनका अनुसार जुन महिनामा ग्यास पनि ३६ हजार टन मात्रै आएको छ। यो आधारमा निगमलाई ग्यासको नोक्सानी पनि कम भएको हो। सामान्य समयमा महिनामा ४५ हजार टन ग्यास आउने गरेको थियो।
मूल्य बढाउन कसरत
निगमले नोक्सानी कम गर्न लिटरमा दुई रुपैयाँ पेट्रोल र डिजलको भाउ बढाउँदै आएको छ। यो मूल्य बढाउँदा निगमलाई केही राहत भएको थियो।
तर पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्न थालेपछि निगमको नोक्सानी थेग्न नसक्ने अवस्थामा पुगेको छ। निगमले नोक्सानी कम गर्न निषेधाज्ञाको समयमा समेत तेलको मूल्य बढाएको थियो। तर अहिले भने मन्त्री परिवर्तनसँगै निगमले मूल्य बढाउन सकेको छैन। अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार विष्णु पौडेलले सम्हालेका छन्।
पौडेलले यो बाहेक गृहको पनि जिम्मेवारी सम्हालिरहेका छन्। गृह र अर्थजस्तो शक्तिशाली मन्त्रालय सम्हालेका कारण पौडेलले वाणिज्यमा ध्यान पुर्याउन सकेका छैनन्। स्रोतका अनुसार निगमको नोक्सानी बढेर मूल्य स्थिरीकरण कोषको रकम समेत प्रयोग हुँदा समेत नधान्ने अवस्था आउन थालेको छ।
यो अवस्था आइसकेकाले मूल्य बढाउन मन्त्री पौडेललाई निगम व्यवस्थापनले आग्रह गर्न खोजेको थियो। तर पौडेललाई धेरै मन्त्रालयको भारी र पार्टीको समेत कामले निगमको समस्या समाधानका लागि समय नमिलेको स्रोतले बतायो। ‘निगमको वित्तीय अवस्था संकटमा पर्दैछ। यो गम्भीर विषय हो। केही वर्ष अघि वित्तीय अवस्था संकटमा पर्दा तेल आउन नसकेर उपभोक्ता एक लिटर तेल लिन घण्टौं लाइन बस्नुपरेको थियो,’ निगमका एक कर्मचारीले भने, ‘यो अवस्थाका बारेमा निगमले मन्त्रीलाई जानकारी गराउन खोजे पनि समय भने पाइएको छैन।’
स्रोतका अनुसार आज नै बेलुकासम्म समय मिलेमा जानकारी गराएर पेट्रोलियम पदार्थको मूल्य बढाइनेछ। मूल्य नबढाउँदा निगमको नोक्सानी मात्रै होइन नेपालबाट भारततर्फ इन्धन तस्करी हुन थालेको छ। भारतमा भन्दा नेपालमा पेट्रोल लिटरमा ३५ रुपैयाँ र डिजल ४० रुपैयाँ भन्दा सस्तो छ।
आन्दोलनको डरले ग्यासको भाउ यथावत
.jpg)
निगमले ग्यासमा नोक्सानी धेरै भए पनि मूल्य भने बढाएको छैन। स्रोतका अनुसार ग्यासको भाउ बढाउने बित्तिकै त्यसले राजनीतिक रंग लिने भएकाले मूल्य नबढाइएको हो।
निगमलाई विगत एक वर्षदेखि सिलिण्डरमा साढे तीन सयको हाराहारीमा नोक्सानी छ। स्वचालित मूल्य समायोजन गर्ने भनिएपनि ग्यासलाई यथावत राखिएको छ। निगमलाई १५ दिनमा ग्यासबाट मात्रै ५० करोड नोक्सानी छ।
स्रोतका अनुसार ग्यासको विकल्पमा इन्डक्सनलाई बढावा दिने हो भने निगमको नोक्सानी कम हुने र त्यसले मुलुकलाई नै फाइदा गर्ने विकल्पका बारेमा पनि छलफल अगाडि बढाउन खोजिएको छ।
वाणिज्य मन्त्रालय स्रोतका अनुसार इन्डक्सन चुल्हो किन्न भन्सार छुटसँगै केही अनुदान समेत दिएर प्रयोग बढाउँदै लगेर ग्यासको खपत घटाउन सके मुलुकलाई नै दीर्घकालीन फाइदा हुने भएकाले छलफल अगाडि बढाइएको हो।


