
काठमाडौं, २८ असार । नेपाल फाइनान्स लि.ले ललितपुर फाइनान्स लि. प्राप्तिपश्चात एकीकृत कारोबार शुभारम्भ गरेको छ । कम्पनीले आइतबारदेखि संयुक्त कारोबार शुभारम्भ गरेको जनाएको हो ।
सो कार्यक्रम दुवै संस्थाका संचालक, नेपाल फाइनान्सका आधारभूत शेयरधनी एवं उद्योग ब्यवसायी राजेन्द्र शाक्य र नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाइनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा भएको हो ।
नेपाल फाइनान्स लि.का संचालक समितिका अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल फाईनान्सका संचालक एव संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागत र सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमले संचालन गरेका थिए ।
नेपाल फाईनान्सका स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकार र ललितपुर फाईनान्सका अध्यक्ष दीपक महर्जनले शुभकामना ब्यक्त गर्दै प्रारिम्भिक संझौता भएको ६ महिनाभित्रै एकिकृत कार्य सम्पन्न गरी ऐतिहासिक रेकर्ड कायम गरेको र आगामी दिनहरुमा समेत यस्तै रेकर्ड हासिल गर्न संस्था सफल होस भनी शुभकामना दिए ।
निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेड र ललितपुरको पहिलो फाईनान्स कम्पनी ललितपुर फाईनान्स लिमिटेडबीच प्राप्तिको लागि मिति २०७७ पौष २३ गते प्रारम्भिक संम्झौता सम्पन्न भएको थियो ।
एकीकृत कारोबारपछि विभिन्न १० शाखा कार्यालय र १ विस्तारित काउण्टरबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, डिजिटल बैंकिंङ एटिएम कार्ड संचालनका लागि समेत सम्पूर्ण तयारी पूरा गरिसकेको, आगामी वर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरुमा १० वटासम्म शाखाहरु संचालनमा ल्याउने गरी प्रकृया अगाडि बढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताए ।


