
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले एकैपटक थप ७ वटा शाखा कार्यालय विस्तार गरेको छ । यससँगै संस्थाको शाखा संख्या १०८ पुगेको छ ।
पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले बांकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी ७ वटा शाखा कार्यालयबाट थप सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।
यसअघि संस्थाले साविक स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात १ वटा शाखा मर्ज गरेको लघुवित्तले ५१ वटा जिल्लामा १०१ वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक सदस्यहरुलाई सुबिधा दिँदै आइएरहेको थियो ।
साथै, यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई-पे तथा ई-सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको छ ।
यस संस्थाले हाल १ लाख २६ हजार ९९४ जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ । यसैगरी संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।


