
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा देखिएका समस्याले निजी क्षेत्रलाई निराशा बनाएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा सबैतिर देखिएका समस्याको भार निजी क्षेत्रलाई परेको र यसले निराशा बढाएको बताए ।चालु आर्थिक वर्षको सुरुवातदेखि नै देखा परेकाे बजारमा तरलता अभाव, बैंक ब्याजदर उच्च, घट्दो विदेशी मुद्रा सञ्चिति, बढ्दो मूल्यवृद्धि जस्ता पक्षले उद्योगी व्यवसायीलाई समस्यामा पारेको उनको भनाइ छ । ‘अहिले ब्लड बाथको स्थिति छ । ट्रेजरी बिलको ब्याज १० प्रतिशत नाघेको छ । इन्टर–बैंकदर ५ प्रतिशत नाघेको छ । तरलता सुधार हुने संकेत छैन । व्यापार घाटा १६ खर्ब छ । शोधनान्तर घाटा २ खर्ब नाघेको छ, कुनै जादुको छडी छैन एकैपटक तरलताको समस्या समाधान गर्न, इन्धनको मूल्य एक वर्षमा डबल भएको छ । वाह्य क्षेत्रको सन्तुलनको चुनौती कायम नै छ’ अध्यक्ष गाेल्छाले भने ।
यी यावत् समस्याको सम्बोधनका लागि राष्ट्र बैंकको आगामी मौद्रिक नीति महत्वपूर्ण रहेको उनले बताए । गोल्छाले भने ‘उद्योगी व्यवसायी मात्रै नभएर सम्पूर्णको राष्ट्र बैंकमाथि विश्वास छ । तरलता र तरलतासँग जोडिएर बहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ । यस्तो विकराल समस्या उद्योगी व्यवसायीहरुले जीवनमा भोगेका थिएनौं ।’ आयात प्रतिवन्ध भएका वस्तुको सूची लामो हुँदा समेत आयात नघटेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले आगामी मौद्रिक नीतिमा बैंकमा लागू गरिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को अनुपात परिमार्जन गर्न सुझाव दिए । अध्यक्ष गोल्छाले रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन प्रोत्साहन गरिएको १ प्रतिशत थप ब्याज दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने अपेक्षामा आफूहरु रहेको उनले बताए । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए । बजार मूल्य वृद्धि ८ प्रतिशतको कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको उनले दाबी गरे । साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी सेयर बजारमा डुबेको बताउँदै उनले मौद्रिक नीतिले राहत दिने आशामा रहेको बताए ।