२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोनाविरुद्ध वीर अस्पताल : एम्बुलेन्स चालकलाई तालिम, भेन्टिलेटर र आइसियू बेड तयार

banner

सरकारले चैत १८ गते काठमाडौंका ६ ठूला अस्पताललाई कोरोना उपचार हुने अस्पताल तोक्यो। ती हुन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र आर्मी अस्पताल।

तीमध्ये प्राय अस्पतालले सरकारको निर्देशनपछि मात्र कोरोना संक्रमितको उपचारका लागि तयारी थाल्यो।

कस्तो छ त काठमाडौंको मध्य भागमा रहेको सबैभन्दा पूरानो अस्पताल अर्थात् वीर अस्पतालको तयारी?

‘यो पुरा सुरक्षाको उपकरण त होइन तर अहिले हामीसँग पीपीई छ। यति भए पनि लगाउँदा अलि ढुक्क हुन्छौं’, हातमा थर्मल गन लिएर ज्वरो नाप्न तयारी अवस्थामा बसेकी एक नर्सले सुनाइन्।

पाल टाँगेर बनाइएको क्लिनिकमा उनी र अर्का एक जना स्वास्थ्यकर्मी छन्। उनीहरु दुईजना फूर्सदिला देखिन्छन्। ज्वरो नाप्नेको भिडभाड खासै छैन। क्लिनिकसम्म पुग्नका लागि डोरी बाँधेर बनाइएको सीमित क्षेत्रमा लाइन लाग्ने व्यवस्था गरिएको छ। तर लाइनमा कोही देखिँदैन। ओपिडी त झन् ठप्प। किनकि लकडाउनसँगै अस्पतालहरुमा पनि आपत्कालिन सेवा मात्र दिइएको छ।

काठमाडौं उपत्यकाका अधिकांश ठूला अस्पतालमा जस्तै वीर अस्पताल पनि सुनसान छ।

सम्भावित बिरामी आए हाइ अलर्टमा अस्पताल

इमर्जेन्सी वार्डको गेटमा दुईजना सुरक्षाकर्मी खटिएका छन्। हातमा थर्मल गन बोकेर उभिएका। इमरजेन्सी वार्डतर्फ लाग्ने हरेकको ज्वरो जाँच गर्छन् उनीहरु। शरीरको तापक्रम ज्याँदा देखिएमा स्क्रिनिङका लागि ‘फेवर क्लिनिक’तर्फ पठाइन्।

अस्पतालका कार्यकारी निर्देशक डा. केदार प्रसाद सेन्चुरीका अनुसार क्लिनिकमा दैनिक ५० देखि ६० जना बिरामी आइरहेको बताउँछन्।

टिचिङ अस्पतालमा भने कोरोना संक्रमणका आशंका लागेमा स्क्रिनिङ नगरी सोझै परीक्षणका लागि नमूना पठाइन्छ।

स्क्रिनिङ गरेपछि ज्वरो देखिएको खण्डमा अस्पताल पूरा संयन्त्रको प्रयोगमा अलर्ट हुन्छ। र उच्च सुरक्षा अपनाउँदै उपचार प्रक्रिया अगाडि बढाउने कार्यकारी निर्देशक सेन्चुरीले बताए।

‘सावधानीका हिसाबले त अरु अस्पतालले भन्दा राम्रै तयारी गरेका छौं। तर हाम्रो जनरल अस्पताल हो। सोचेजस्तो सेवा सुविधा सम्भव छैन’, अस्पतालले गरेको तयारी बारे बताउँछन्।

‘कोभिडसँग जुँध्न लागि तयार छौं। तर एक दिन भन्दा बढि बिरामी राख्न सक्दैनौं’

कार्यकारी निर्देशक सेन्चुरी जनरल अस्पताल भएकाले कोभिड- १९ संक्रमित बिरामी खुट्याउन गाह्रो हुने बताए। ‘यहाँ सबै खालका बिरामी आउँछन्। कुन कोभिडको हो, त्यसै भन्न सकिन्न। त्यसैले आवश्यक तयारी गरेका छौं। तर कोभिड प्रमाणित बिरामीलाई भने एक दिन भन्दा बढि राख्न सक्दैनौं,’ उनी भन्छन्।

कोभिडको बिरामी राख्दा ‘क्रस इन्फेक्सन’ हुने चुनौती रहेको बताउँछन्।

‘सरकारले अब टेकु वा पाटन मात्र होइन हामी कहाँ पनि रेफर गर्दा हुन्छ। स्क्रिनिङ र परीक्षणका लागि नमूना लिन तयार छौं’, उनले भने।

हाल वीर अस्पतालको आइशोलेशन वार्डमा ५ जना कोरोनाको आशंका रहेका बिरामीहरुको उपचार भइरहेको थियो। पाँचै जनाको रिपोर्ट नेगेटिभ आयो र उनीहरु डिस्चार्ज भए।

कोरोनाकै लागि २ वाटा आइसियु र २ वटा भेन्टिलेटर

वीर अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि दुई वटा छुट्टै आइसियु शैय्या र दुई वटै भेन्टिलेटर छुट्याइएका छन्।

कुल सोह्र वटा भेन्टिलेटरमध्य दुई वटा कोभिडका लागि छुट्याइएको छ। त्यहाँ जनशक्ती पनि बेग्लै। त्यस्तै दश वटा इन्डोर शैय्या समेत राखिएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएको टेस्टिङ बुथपनि स्थापित छ।

नोवेल कोरोना भाइरस एकाएक फैलिएको माहामारी हो। जसका कारण सधैं भिड हुने वीर लगायत अस्पतालले पूर्व तयारी गर्नै पाएन। त्यसैले पनि आम बिरामी र संक्रमण लक्षण देखिएका बिरामीका लागि फरक व्यवस्थापन अप्ठ्यारो कुरा हो।

निर्देशक भन्छन्,’कोरोना विशेष अस्पताल त होइन तर अरु रोगले आएको तर चिकित्सकलाई संक्रमण शंका लागेको खण्डमा उपचार गरिने अस्पताल हो। त्यसका लागि विशेष सावधानी अपनाएका भने छौं।’

उनी कोरोनाका लागि विशेष अस्पतालहरु सञ्चालनमा ल्याइनु पर्ने बताउँछन्।

एम्बुलेन्स चालकलाई कोरोनाविरुद्ध सावधानीको तालिम

वीर अस्पतालका आकष्मिक कक्षमा खटिएका सबै चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी पीपीई लगाएर खटिएका छन्।

वीरको प्रशासन शाखामा पनि सोझै भित्र छिर्न अनुमति दिइएको छैन। ढोकामै उभिएर आफ्नो काम के हो? बताउनु पर्छ र आवश्यकता अनुसार सेवा दिइन्छ।

वीरका तीन वटा एम्बुलेन्समा पनि सावधानी अपनाइएको छ। जसका लागि चालकहरुलाई कोरोना भाइरसविरुद्ध सतर्क भएर काम गर्न तालिम दिइएको निर्देशकको दावी रहेको छ।

संक्रमणको सम्भावना देखिएका बिरामीलाई कसरी चिन्ने, कसरी सावधानी अपनाउने? लगायत विषयमा प्रष्ट पारिएको सुनाउँछन्। त्यस बाहेक व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग पनि अनिवार्य गरिएको छ।

पञ्जा र मास्कको प्रयोग चाहिं जस्तो अवस्थामा पनि लगाइ रहने निर्देशन दिइएको छ।

‘सुरुमा त डराउनु भएको थियो। तर आवश्यक तालिम र परामर्शपछि उहाँहरुमा आत्मविश्वास जाग्यो’, उनले भने।

कोरोनाविरुद्धको लडाई विशेष अवस्था हो। ‘यस्तो बेलामा सुरक्षाका उपकरण अपनाएर पहिलो पंक्तिमा खटिन तयार छ वीरको टोली’, उनले भने।

ad

यो पनि पढौँ

सनसिटीका तीनमध्ये दुईजनालाई कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

अभिनेता ऋषि कपूरको निधन

कोर्पोरट आवाज डट कम

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

कोर्पोरट आवाज डट कम

Leave a Comment