२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

रेडजोनमा किटको हाहाकार, संसदमा ४४१ को खकार !

banner

भनिन्छ, कोरोना भाइरस (कोभिड-१९) ले सर्वसाधारण वा भीआईपी कसैलाई छुट्याउँदैन । तर, कोरोना भाइरस परीक्षण गर्नेहरूले नै विभेद गरेपछि कसको के लाग्छ ?

बिहीबार संसद भवनमा यस्तै विभेदपूर्व दृश्य देखियो ।

रेडजोनमा रहेका आशंकितहरू कोरोना टेस्ट गर्ने किटको अभावमा छटपटाइरहेका छन् । यता संसद भवनमा चाहिँ भीआइपीहरूलाई ज्यानको माया कति रहेछ भन्ने राम्रैसँग देख्न पाइयो ।

कुनै ट्राभल हिस्ट्री नभएका, लक्षण नै नभएका र डेढ महिनादेखि लकडाउनमा बसेका भनिएका सांसदहरूले कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिए । एकाध सांसदको मात्र होइन, एकैदिन कर्मचारीसमेत गरेर ४४१ जनाको पीसीआर विधिबाट परीक्षणका लागि थ्रोट स्वाब संकलन गरियो ।

बिहीबार छुटेकाहरूको शुक्रबार स्वाब संकलन गरिनेछ र भोलि नै रिपोर्ट दिने भनिएको छ । त्यही निरोगिताको रिपोर्ट बोकेर सांसदहरू शुक्रबार अपराह्न संसद अधिवेशनमा सहभागी हुनेछन् ।

उता, जनताको हालतचाहिँ भीआइपीहरूको भन्दा अलि भिन्न छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मानिएको उदयपुरको भुल्के, नेपालगञ्ज र वीरगञ्जका जनता त्रासमा बाँचिरहेका छन् । चाहेर पनि आफूलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउने परीक्षण गर्न पाएका छैनन् । सरकारी अधिकारीहरू कट्याक ट्रेसिङको साँघुरो दायरा बोकेर बसेका छन् र सीमित व्यक्तिको मात्र पीसीआर टेस्ट गरिरहेका छन् ।

पछिल्लो समय त उनीहरूकै परीक्षणसमेत किटको अभावका कारण धेरै ठाउँमा रोकिएको छ । आरएनए एक्ट्रयाक्सन किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको परीक्षण रोकिएको छ । कोशी अस्पताल, विराटनगरमा अटोमेटिक मेसिन बन्द भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको पीसीआर मेसिन चलाउन सकिएन ।

विज्ञहरू नै तीनछक्क !

सांसदहरूको सामूहिक थ्रोट स्वाब संकलन देखेर स्वास्थ्य मन्त्रालयका विज्ञहरू पनि छक्क परेका छन् । ‘किट अभावले सम्भावित संक्रमितहरूको टेस्ट रोकिएका बेलामा नेताहरूले आफ्नो टेस्ट गराएर अर्को भद्दा मजाक गरे,’ मन्त्रालयका एक विज्ञ भन्छन्, ‘साँच्चै उहाँहरूले कसका लागि राजनीति गरिरहनुभएको छ ?’

स्वास्थ्य मन्त्रालय अर्का जनस्वाथ्य विज्ञको प्रश्न छ, ‘नेताहरूले आवश्यकताको सिद्धान्तलाई चुनौती दिएर जनताहरू त भुसुना नै हुन् भन्ने सन्देश दिन खोजेका हुन् ?

संसदका प्रवक्ताको स्पष्टीकरण

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर सबै सांसदको पीसीआर टेस्ट गर्ने व्यवस्था मिलाइएको हो । ‘माननीयज्यू र उहाँका सहयोगीहरू देशका विभिन्न स्थानबाट आउनुभएको छ । भोलि कुनै दुर्घटना नहोस् भनेर सुनिश्चित हुन सबैको टेस्ट गर्ने व्यवस्था मिलाएका हौं’ पाण्डेले अनलाइनखबरसँग भने ।

बिहीबार थ्रोट स्वाब संकलज गर्न छुटेका सांसदहरूलाई भोलि शुक्रबार ८ देखि १० बजेसम्म बोलाइएको छ । स्वाब संकलन गरेको रिपोर्ट चार घण्टामा आउनेछ ।  भोलि ४ बजे बैठक सुरु हुँदा कोरोना नेगेटिभ आएका सांसदहरूलाई मात्र प्रवेश दिइनेछ ।

साथै संसद भवनभित्र न्यूनमत स्वास्थ्य मापदण्ड पूरा गर्ने सबै व्यवस्था मिलाइएको छ भने बैठकको सुरुमै अपनाउनुपर्ने न्यूनतम सावधानीबारे सांसदहरूलाई जानकारी गराइने छ ।

तर, संसद भवनबाट बाहिर निस्किएपछि त सांसदहरू आफ्नो घरमा जान्छन्, लकडाउन भए पनि धेरथोर भेटघाट होला नि ? भन्ने प्रश्नमा प्रवक्ता पाण्डेले भने, ‘संसद भवन बाहिर उहाँहरू आफैँले पनि सावधानी अपनाउनुपर्छ । लकडाउन भएकाले उहाँहरू घरमा पनि सुरक्षित नै रहनु भएको हुन्छ ।’

उनले अघि भने, ‘यो अवधिमा कार्यकर्ता भेटघाट लगायतका गतिविधि बन्द गर्नुपर्ने हुन्छ ।’

नेतालाई डब्ल्यूएचओको प्रोटोकल लाग्दैन ?

हुन पनि एक महिनाअघिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ आशंकामा पुग्ने मानिसहरू दर्जनौं हुन्थे । उनीहरू संक्रमण फैलिएका देशबाट आएका पनि थिए ।

सामान्य लक्षणहरू पनि देखिएको हुन्थ्यो । तर, अधिकांशलाई टेस्ट नगरी फर्काइयो । किनभन्दा चिकित्सकहरू भन्थे, ‘ट्राभल हिस्ट्री मिलेर मात्रै जाँच गरिँदैन । सामान्य ज्वरो र रुघाखोकी मात्र कोरोनाको लक्षण मानिन्न, श्वास प्रश्वासको समस्या पनि हुनुहुन्छ ।’

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रोटेकल देखाउँथ्यो । जसमा भनिएको छ, कोभिड जाँच गर्न ट्राभल हिस्ट्री, लक्षण, संक्रमितसँग प्रत्यक्ष सम्पर्क र संक्रमण समुदायस्तरमा फैलिएको क्षेत्रमा बसोबास हुनुपर्छ ।’

ट्राभल हिस्ट्री मिलेको तर अस्पतालले कोभिड-१९ जाँच नगरिदिएकै कारण समाजबाट बहिस्कृत हुनुपर्‍यो, कोठाबाट निकालिनुपर्‍यो । छिमेकीले उजुरी गरेर प्रहरी चौकीसम्म धाउनुपर्‍यो । उनीहरूले आरटीडी टेस्ट समेत गर्न पाएनन् । त्यसैले विदेशबाट आएको डेढ दुई महिनासम्म पनि उनीहरूमाथि शंकाको नजरले हेरिन्छ ।

कोरोना संक्रमण फैलिएको भारतबाट आएका केही लाख र तेस्रो मुलकहरूबाट केही हजार मानिस अझै आरटीडी समेत परीक्षण गराउन पाएका छैनन् । जबकि उनीहरूलाई नेपाल आउनासाथ आइसोलेट गरेर पीसीआर टेस्ट गर्नुपर्ने थियो । किनकि कोरोनाको जोखिमपूर्ण क्षेत्रबाट आएका उनीहरू आफू मात्र संक्रमित हुनसक्ने होइन, अरूलाई पनि संक्रमण सार्न सक्थे ।

जनताको हकमा डब्ल्यूएचओको गाइडलाइन समातेको स्वास्थ्य मन्त्रालयले सांसदको हकमा यो बिर्सियो र संसदको सदस्य भएका हरेकको पीसीआर टेस्ट गराएको छ ।

व्यर्थ हुनेछ यो परीक्षण

बिहीबार सांसदहरूको कोरोना परीक्षण गरिएको शुक्रबारबाट सुरु हुने संसदको बजेट अधिवेशनका लागि हो । संसदको यो अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम, बजेट ल्याउनुपर्ने भएकाले संसद बैठक अब लगातार बस्छ ।

तर, कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिएका सांसदहरू आइसोलेसनमा हुने छैनन् । उनीहरू बुधबार नै थ्रोट स्वाब दिएर आ-आफ्नो घरमा फर्किएका छन् र नियमित भेटघाटमा व्यस्त भएका छन् । त्यतिमात्र होइन, सांसदका स्वकीय सचिव, सवारी चालक कसैको पनि कोरोना परीक्षण गरिएको छैन ।

त्यसैले यो परीक्षण अभाव भइरहेको किट र राज्यको स्रोत साधनको नाश मात्र हुने देखिन्छ । जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित पनि या त सांसदहरू आइसोलसनमा बस्नुपर्ने नभए हरेक साता टेस्ट गर्नुपर्ने अवस्था आउने बताउँछन् ।

‘सांसदहरूको पीसीआर टेस्ट गर्नु राम्रो हो । किनकि हामीले सुरुदेखि नै सबैको पीसीआर टेस्ट गर्नुपर्छ भन्दै आएका हौं’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘तर आज टेस्टका लागि नमुना दिएर उहाँहरू आइसोलेनमा त बस्नुभएको छैन । आफ्नो नियमित दैनिकीमा फर्किने हो भने रिपोर्ट नेगेटिभ आए पनि फेरि संक्रमित हुने सम्भावना रहिरन्छ ।’

किनकि पीसीआर टेस्टिङको विश्वव्यापी मान्यता छ, संक्रमण भएको छ-छैन पत्ता लगाउन स्वाब झिकेपछि आइसोलेसनमा बस्नुपर्छ । टेस्टको रिजल्ट नआएसम्म अरूको प्रत्यक्ष सम्पर्कमा जानहुन्न । कसैसँग भेटघाट र घुलमिल प्रतिबन्ध गर्नुपर्छ ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले भने पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि नेताहरूले सावधानी नै नअपनाउने सम्भावना पनि रहने बताए ।

नेताहरूले गुमाएको एउटा अवसर

जनस्वास्थ्य विज्ञहरूका अनुसार सांसदको कोरोना परीक्षण आफैँमा नराम्रो होइन । किनकि लकडाउन भने पनि राहत बाँड्ने नाममा धेरै सांसदले दौडधुप परेका छन् । अर्थात् उनीहरू अहिलेको अवस्थामा सबैभन्दा ‘एक्स्पोज’ भएका व्यक्तिहरूमध्ये एक हुन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदहरूले यो लकडाउनको अवधिमा धेरैभन्दा धेरै मानिसलाई भेटेका छन् । त्यसैले यस्ता मानिसहरुको कोरोना परीक्षण गर्दा नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लाग्न सक्छ । त्यसैले यो नेपालमा कोभिड-१९ को परीक्षणमा हाल कायम साँघुरो दायरा भत्काउने अवसर थियो ।

यसका लागि सरकार वा स्वास्थ्य मन्त्रालयले ट्राभल हिस्ट्री भएका, लक्ष्मण देखिएका, संक्रमितको सम्पर्क गएकाहरूसँगै धेरै एक्स्पोज भएकाहरुको पनि परीक्षण गर्ने निर्णय गर्न सक्थ्यो । यसो गर्दा १५/२० हजारको परीक्षण गर्नुपर्ने हुन्थ्यो होला’ स्रोतले भन्यो, तर यसले कोरोना संक्रमणको एउटा तस्वीर बाहिर आउँथ्यो ।’

यसमा पीसीआर नै गर्नुपर्छ भन्ने पनि थिएन । किनकि आरटीडी टेस्ट गरेर अध्ययन गर्न सकिथ्यो । तर, सांसदहरुको मात्र पीसीआर टेस्ट गर्ने तर जोखिमपूर्ण क्षेत्रबाट आएका, रेड जोन मानिएको क्षेत्रमा भएकाहरुले आरटीडीसमेत गर्न नपाउने स्थिति बनाउनुले नेता र सांसद सबथोक हुन्, उनीहरू मात्र सुरक्षित हुनुपर्छ । जनता केही होइन भन्ने सन्देश जान खतरा छ ।

ad

यो पनि पढौँ

ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्नेमा देउवातिर किन लाग्नुभयो ?

कोर्पोरट आवाज डट कम

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

कोर्पोरट आवाज डट कम

महानगरीय प्रहरी बृत्त थानकोटले लक डाउन तोड्नेलाई संक्रमण रोग ऐन २०२० को मुद्दा चलाउने

कोर्पोरट आवाज डट कम