
भक्तपुर–भक्तपुरको ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टका आवश्यक सामग्री भक्तपुर आइपुगेको छ। प्लान्टका लागि आवश्यक सामग्री भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल आइपुगेको हो। अस्पतालको निर्माणाधीन भवनमा ती सामग्री ल्याइएका हुन्। सामग्रीको जडान पनि थालिएको छ।
सामग्री चीनको छेन्दुबाट बुधबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। दुई खेपमा काठमाडौँबाट भक्तपुर च्याम्हासिंहस्थित ख्वप अस्पतालको निर्माणाधिन भवनमा ती सामग्री ल्याइएका थिए।
ख्वप अस्पताल, कोभिड एकाइ सञ्चालन समितिका संयोजक रवीन्द्र ज्याख्वले चीनको छेन्दुबाट बुधबार बिहान काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अक्सिजन प्लान्टका सामग्री ल्याइएको जानकारी गराए। सात वटा बाकसमा सामग्री आएको संयोजक ज्याख्व बताउँछन्। उनले बिहीबारदेखि नै सेटिङ सुरु हुने बताए। ‘अक्सिजन प्लान्टका लागि आवश्यक विद्युत् आपूर्तिको प्रबन्ध भइसकेको छ,’ उनले भने।
निर्माण भइरहेको ख्वप अस्पतालमा ट्रान्सफर्मरलगायतको पनि जडान भइसकेको छ। ‘प्लान्ट राख्ने कोठालाई साउन्ड प्रुफ बनाउने जस्ता केही काम बाँकी छन्। ती सबै काम केही दिनभित्र सकाउने लक्ष्य राखेका छौँ,’ उनले भने। संयोजक ज्याख्वले हप्ता दिनभित्र ख्वप अस्पतालको सो प्लान्टले अक्सिजन उत्पादन थाल्ने बताए।
कुल १ करोड २० लाखको लागत इस्टिमेटमा बन्दै गरेको अक्सिजन प्लान्टबाट चौबीस घण्टामा ४० लिटर क्षमताका १ सयदेखि १ सय २० वटा सिलिन्डर भर्न सकिने जानकारी उनले दिए। उनले हाललाई अक्सिजनको खपत ख्वप अस्पतालअन्तर्गत कोभिड एकाइका बिरामीकै लागि प्रयोग गरिने र पछि अन्य बिरामीका लागि पनि आवश्यकताअनुसार प्रयोग गरिने बताए।
अक्सिजन प्लान्ट राख्न आवश्यक रकम संकलनका लागि नगरपालिकाले सहयोग आव्हन गरेको थियो। त्यस अनुसार हालसम्म ५ करोड ३६ लाख ३८ हजार ६९४ रुपैयाँ सङ्कलन भइसकेको भक्तपुर नपाले जनाएको छ । अक्सिजन प्लान्टका लागि आवश्यक रकमभन्दा बढी उठेपछि भक्तपुर नगरपालिकाले ख्वप अस्पतालका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री खरिदका लागि पनि प्रक्रिया थालनी गरेको छ। अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापनाका लागि आवश्यक सामान खरिदका लागि बोलपत्र आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ।
भक्तपुर नपाले हाल ब्रह्मायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड–१९ का बिरामीका लागि ख्वप अस्पतालअन्तर्गत पच्चीस एचडीयूसहित ७५ शय्याको कोभिड एकाइ सञ्चालन गर्दै आएको छ ।
देशभर अक्सिजनको अभाव बढेसँगै भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो। अक्सिजन प्लान्ट खरिदको लागि आवश्यक आर्थिक कोष जुटाउन नगरपालिकाले स्थानीय सहकारी संस्थाहरूलाई आग्रह गरेको थियो। अक्सिजनकै अभावको कारण आफ्नै टोल छिमेकमा आफन्त गुमाइरहेको समाचार सुनेका नगरवासीलगायत देशभरका विभिन्न व्यक्ति र संस्थाले अक्सिजन प्लान्ट स्थापनाको निम्ति आर्थिक सहयोग गरेका थिए।


