
काठमाडौं, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असार ६ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
१० वर्ष सम्मको समयावधि रहेको बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि उक्त ऋणपत्रमा आवेदन पेश गर्ने म्याद असार ९ गतेसम्म रहेकाे थियाे ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिदैंछ । बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले बिक्री गरिने भएको छ ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले कममा २५ कित्ता तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन पेश गर्न सकिने भएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


