
काठमाडौं- सरकारी अस्पतालहरुमा उपकरण खरिदका क्रममा व्यापारीसँगको सेटिङमा अनियमितताका विषय सार्वजनिक भइरहेका छन्।
व्यापारीसँगको सेटिङमा सरकारी अस्पताल तथा केन्द्रीयदेखि प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरुले स्पेसिफिकेसन बनाउँदा नै सेटिङ गर्ने गरेका विषयमा नेपाल लाइभले निरन्तर कलम चलाउँदै आइरहेको छ। व्यापारीसँगको मिलेमतोमा एउटै कम्पनीबाट एकै क्षमताका उपकरणमा समेत करोडौं रकम फरक परेको अर्को तथ्य फेला पारेको छ।
सरकारका दुई अस्पतालमा एउटै कम्पनीबाट एकै क्षमताको एमआरआई मेसिन खरिदका क्रममा ७ करोड रुपैयाँ फरक परेको तथ्य फेला परेको हो।
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन्। दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन्। दुवै अस्पतालले थ्री टेस्ला क्षमताका एमआरआई खरिद प्रक्रिया अगाडि बढाएका हुन्।
निजामती अस्पतालले त्यही क्षमताको एमआरआई १७ लाख २२ हजार ९ सय डलर अर्थात् २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ। निजामती अस्पतालले जेठ २५ गते थ्री टेस्ला क्षमताको एमआरई खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालिलाई दिने निर्णय गरेको छ।
यस्तै, कर्णाली प्रदेश अस्पताल सुर्खेतले पनि थ्री टेस्ला क्षमताकै एमआरआई मेसिन खरिदको जिम्मा ईष्ट वेस्ट कन्सर्न प्रालिलाई नै दिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक अस्पतालले उक्त कम्पनीलाई २९ करोड ७१ लाख ६६ हजार ७ सय ९२ रुपैयाँमा खरिद गर्न जिम्मा दिएको छ।
ईष्ट वेस्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई नेपालमा ल्याउने गरेको छ।
दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन्। यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरु राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ। स्पेसिफिकेसनका भाषाहरु पनि उस्तै छन्।
दुवै अस्पतालले साना र ठूला गरी तीन सयभन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन्। सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन्। जसमा अधिकांश बुँदाहरु एक अर्कामा हुबहु सारिएका छन्। केही नम्बरका बुँदाहरु तलमाथि गरिएका छन् भने बुँदालाई फरक देखाउन केहीमा अंग्रेजी अक्षरको ठूलो भएकामा सानो र सानो भएकामा ठूलो मात्र बनाइएको छ।
तीन सयभन्दा बढी बुँदाका स्पेसिफिकेसनमा झुक्याउनका लागि आरएफ च्यानल फरक देखाउन खोजिएको छ। सुर्खेतको एमआरआईमा ६४ अथवा त्योभन्दा बढी आरएफ च्यानल भनिएको छ भने सिभिलकोमा ३२ अथवा त्योभन्दा बढी भनिएको छ। तर, उक्त बुँदामा दुवै अस्पतालमा एमआरआईको ‘बीट’ भने समान राखिएको छ। दुवै अस्पतालको बीट फ्रिक्वेन्सी ३२ हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख छ। यो भनेको जति च्यानलको आरएफ भए पनि एमआरआईले दिने चित्र (इमेज) उस्तै हुने एक बायोमेडिकल इन्जिनियर बताउँछन्।
‘दुवै अस्पतालको स्पेसिफिकेसन हेर्दा अधिकांश महत्त्वपूर्ण बुँदाहरु उस्तै छन्। केहीमा फरक देखाउन खोजिएको छ। तर, त्यसले मूल्यमा खासै फरक देखाउँदैन,’ उनले भने, ‘ती सबै बुँदाहरु झुक्याउनका लागि राखिएका र मूल्यमा चलखेल गर्न राखिएका हुन्। दुवै अस्पतालका उपकरण उस्तै र एउटै हुन्।’