
काठमाडौं। इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै युएईका प्रमुख सहर अबुधाबी, दुबई र सारजाहलगायत सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलुमार्फत नेपालमा रेमिटेन्स पठाउन सक्ने छन्।।
युएईभरी रहेका लुलुका ८४ वटा शाखामध्ये कुनै पनि शाखामा गएर इसेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्ने इसेवाले जनाएको छ। यस्तै लुलुको मोबाइल एप (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्ने छन्।
लुलुको शाखाबाट पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सिधै रकम पैसा पठाउन सकिने बताइएको छ। ६० लाखभन्दा बढी प्रयोगकर्ता रहेको इसेवा वालेटमा पनि सोझै रकम पठाउन सकिने कम्पनीले जनायो।
युएईबाट पठाएको रेमिटेन्स, नेपालका अधिकांश ठाउँमा रहेका कम्पनीका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी इसेवाका क्यास प्वाइन्ट मार्फत पनि रकम झिक्न सकिने छ।
पठाएको नगद रेमिटेन्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिने बताइएको छ। यसैगरी हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले युएईमा रहेका नेपालीहरुले लुलुबाट इसेवामा पैसा पठाई दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सकिने कम्पनीले जनाएको छ।
रेमिटेन्स भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवा मनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलुका सहायक प्रमुख थम्पी सुदर्शननले हस्ताक्षर गरेका छन्।
‘इसेवा र लुलुबीचको यो सम्झौताले युएईबाट नेपाल रेमिटेन्स भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने छ। डिजिटल माध्यमबाट बैंक तथा इसेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरुले लुलु एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउनेमा हामी विश्वस्त छौं,’ कम्पनीका सीइओ अजेस कोइरालाले भने।