२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर समाचार

दोलखाबाट पाँच दिन हिँडेर काठमाडौं, थानकोटबाट गाडीमा सरर…

banner

बर्दियाका बुद्धिराम थारु चिउरा, दालमोठ र केही प्याकेट चाउचाउको भरमा परिवारसहित दोलखाको तामाकोसी गाउँपालिका, जफेबाट पैदल हिँडेका थिए । ‘भोकले मर्नुभन्दा रोगले लगेको जाति…’ भनेर श्रीमती, १७ वर्षका छोरा मिलन र १२ वर्षकी छोरी शिलासहित पैदल निस्किएको उनी सुनाउँछन् । लकडाउनको सुरुवाती दिनमा बुद्धिराम मजदुरी गरिरहेकै थिए । तर, बिस्तारै काम रोकियो । ठेकदारसँग सम्पर्क टुट्यो । त्यसपछि उनीहरूलाई दोलखामा टिक्न गाह्रो भयो ।

‘नगरपालिकाले सहयोग गर्ने भनेको सुनेर गयौँ । तर, नागरिकता नहुँदा राहत पनि पाएनौँ’, थारुले मसिनो स्वरमा अनलाइनखबरसँग भने, ‘एक्लै भए जसोतसो काटिन्थ्यो श्रीमती र छोराछोरी पनि थिए । उनीहरूकै पिरले पनि सधैँ पोलिरहृयो ।’ श्रीमती र छोराछोरीले पनि जे पर्लापर्ला हिँडेर भएपनि गाउँ नै जाऔं भन्न थाले । आफू र श्रीमती त हिँडिएला, छोराछोरी कसरी हप्तौंसम्म हिँड्लान् भन्ने चिन्ता थियो । परिवारमा सबैभन्दा कान्छो छोरी शिलाले पनि भनिन्, ‘नखाइ बस्नुभन्दा बरु हिँडौँ ।’

छोरीको कुरा सुनेपछि उनलाई हौसला मिल्यो । गाउँमा आफ्नै खेती थियो । त्यसैले घर पुग्नसके जसरी पनि बाँचिन्छ भन्ने लागेपछि उनीहरूको यात्रा सुरु भयो । परिवार लिएर १ वैशाखमा दोलखाबाट हिँडेका उनी मुख्य सडकबाट हिँड्दा प्रहरीले नियन्त्रणमा लिने सक्नेमा जानकार थिए । त्यसैले स्थानीयसँग सोध्दै जंगलको बाटो हिँडे ।

बाटोमा अरु पनि हिँडिरहेका भेटिए । तर, उनीहरूको जस्तो गतिमा थारु परिवार अघि बढ्न सकेन । ‘बच्चा भएकाले अरुसँगै हिँड्न सक्ने कुरै भएन । बिस्तारै आयौँ’, बुद्धिरामले अत्यासलाग्दो यात्रा वृत्तान्त सुनाए, ‘राति पनि सुत्नलाई केही थिएन । कतै खाली ठाउँ भेट्दा एकछिन ढल्किँदै हिँड्यौँ ।’

रातको समयमा दिउँसोभन्दा बढी हिँडेको अनुभव उनले सुनाए । काठमाडौं आइपुग्दासम्म पाँच दिन लगाएर कुन-कुन ठाउँ पार गरियो भन्ने पनि उनलाई याद छैन । ‘अरु बेला गाडीमा हिँडिन्थ्यो, यसपालि जंगलै जंगल हिँडियो’, उनले सुनाए, ‘काठमाडौं आइपुग्न लागेपछि चाहिँ ठाउँठाउँमा खानेकुरा राखिएका थिए ।’

उनीहरू जति सहर नजिक पस्दै जान्थे, त्यहीँ यात्रा छोटिँदै गएको महसुस गर्थें । शुक्रबार बुद्धिरामको परिवार धुलिखेल हुँदै काठमाडौं प्रवेश गर्‍यो । उनीहरूलाई कलंकी पुगेपछि सवारी साधन भेटिहालिन्छ कि भन्ने झिनो आशा थियो । तर, कलंकी हुँदै उकालो लाग्दा प्रहरीले रोक्यो ।

‘अब झन् आपतमा परिने भइयो भन्ने लागेको थियो’, उनले भने, ‘तर, प्रहरीले नगरपालिकाले खाने व्यवस्था गरेको छ, त्यहाँ जानुस् भन्यो ।’ त्यसपछि उनको परिवारले पाँच दिनको भोक र केही थकान त मेट्यो तर, घर जान पाउने नपाउने टुंगो थिएन ।

उनीहरू मात्र होइन, त्रिभुवन पार्कमा पैदल हिँडेर घर जान खोजेका तीन सयभन्दा बढी भइसकेका थिए । उनीहरूलाई यही राख्ने हो भने व्यवस्थापन गर्न नसक्ने अवस्था देखियो र सांसद अञ्जना विशुंखे सहितका जनप्रतिनिधि र स्थानीय युवाले उनीहरूलाई घरसम्म पठाउने निर्णय गरे । चन्द्रागिरि यातायात सहितको आठ वटा गाडी उनीसहित अन्य मजदुरका लागि व्यवस्था गरिएको थियो ।

बुद्धिरामको परिवार पनि गाडी चढे । ‘पाँच दिनसम्म हिँड्दा पनि कसैले एक वचनसम्म सोधेनन् । यहाँ एक्कासी गाडी व्यवस्था हुँदा विश्वास नै गर्न गाह्रो भइरहेको छ’, बसको पछाडिको सिटमा परिवारसहित बसेका उनले खुसी हुँदै भने, ‘हामीलाई उद्दार गरिदिनुभयो, सहयोग गर्ने सबैलाई धन्यवाद ।’

ad

यो पनि पढौँ

‘वैदेशिक रोजगारीमा गएकालाई नेपाल ल्याउन पहल गर’

कोर्पोरट आवाज डट कम

सालको गोलिया काठसहित ९ जना पक्राउ

कोर्पोरट आवाज डट कम

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए

कोर्पोरट आवाज डट कम

Leave a Comment