
मुलुकमा कोभिड संक्रमणको दोस्रो लहर चलिरहेको छ । केही दिनयता संक्रमण र मृत्युदर पनि कम हुँदै गएको छ । जनजीवन सहज बनाउँदै काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाएका छन् ।
तर, निषेधाज्ञा खुकुलो भएको पहिलो दिन चार हजार ५२२ जनामा कोभिड देखिएको छ । अघिल्लो दिनको तुलनामा आज संक्रमण बढेको हो । सोमबार २ हजार २९७ जनामा संक्रमण देखिएको थियो । यसले अझै पनि मुलुकमा संक्रमण जोखिम नघटेको पुष्टि गरेको छ । उपत्यकामा ४७६ जनामा संक्रमण देखियो ।
संक्रमण बढ्यो तर, मानिसको सडक र बजारमा मानिसको चहलपहल सुरु भएको छ । काठमाडौँको न्युरोड खिचापोखरीलाई व्यस्त बजारको रुपमा लिइन्छ । सडकका दायाँबायाँ भागमा केही संख्यामा मोटरसाइकल पार्किङ गरिएको छ । निषेधाज्ञा खुकुलो भएको पहिलो दिन मानिसको आवतजावतमा पनि कम छ ।अधिकांश सटर बन्द छन् केही व्यापारी भने आधा सटर तानेर सफाई गर्दै थिए ।


