
काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटल नियुक्त भएका छन् ।
यी संस्थाले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानीकोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयुक्त हस्ताक्षर गरेका छन् ।
बैंकले एक हजार रुपैयाँको अंकित दरको ३० लाख कित्ता “९% सिभिल बैंक ऋणपत्र २०८८” ऋणपत्र जारी गर्न लागेको हो । उक्त जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
यससँगै प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, ग्लोबल आइएमई क्यापिटलले ३० करोड रुपैयाँ, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले ३५/३५ करोड रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।


