२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग फिचर समाचार

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ

banner

 सरकारले कोरोनाभाइरस (कोभिड–१९)को उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेसँगै उक्त निर्णयको व्यापक आलोचना सुरु भएको छ ।

सरकारको यो निर्णयले जननिर्वाचित सरकार र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भिर प्रश्नहरु उठ्न पुगेको टिप्पणी हुन थालेका छन् । हरेक कामको जिम्मा नेपाली सेनालाई दिनुले कतै मुलुकलाई पाकिस्तानी मोडलमा लैजान त लागिएको होइन भन्ने प्रश्नसमेत उठेका छन् ।
नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको राष्ट्रिय अखण्डता, सार्वभौमिकताको रक्षा गर्नु हो । तर पछिल्लो समय सेनाको काम भनेको ठेक्कापट्टा र व्यापार व्यवसायमा केन्द्रित हुन थालेको छ । सरकारले नागरिक प्रशासनमार्फत् गर्नुपर्ने काममात्र होइन, ठेकेदार र व्यापारीले गर्नुपर्ने कामको जिम्मा पनि धमाधम सेनालाई दिन थालेपछि मुलुक असफलतातिर गएको त होइन ? भन्ने गम्भिर सवालसमेत उठ्न थालेको छ । के नागरिक प्रशासन र राज्यका अन्य संयन्त्र काम नलाग्ने पङ्गु भइसकेको हो त ? के यसरी सवै कुराको जिम्मा सेनालाई दिदै जाने हो भने भोलि नेपालको राज्यसत्ता पनि पाकिस्तानमा जस्तै सेनाले नै सम्हाल्ने अवस्था नआउला ? पूर्व प्रशासक, राजनीतिज्ञ र नागरिक समाजका अगुवाहरुले यसलाई कसरी लिन्छन् ? रातोपाटीले राखेको जिज्ञासामा उनीहरुले मुलुकका लागि यस्तो अवस्था दुर्भाग्यका रुपमा देखा परेको बताए ।

पूर्व प्रशासक भोजराज पोखरेल ‘औषधि खरिदमा देखिएका घट्नाक्रमहरुबाट केही प्रवृत्ति पाटो सतहमा देखिएको’ बताउँछन् । उनी ‘यो घटनाले नागरिक सरकार कमजोर भएको सन्देश दिएको’ भन्दै यसलाई ‘राजनीतिक हस्तक्षेपको एक नमुनाका रुपमा पनि बुझ्न सकिने’ बताउँछन् ।  पोखरेलले भने, ‘हरेक समस्यामा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ तर उसको भूमिकालाई नागरिक सरकारले त्यही अनुसार उपयोग गर्नुपर्छ । ’

उनले ‘नागरिक सरकार बलियो बनाउन प्रणालीको विकास नगर्ने अनि अप्ठेरो परेको बेला फुत्त सेनालाई दिएर आफु पन्छिने प्रवृत्तिको विकास हुनले कालान्तरमा राम्रो नतिजा नआउने’ बताए । औषधि खरिद प्रकरणमा सेनालाई अघि सार्नुमा पोखरेलले ‘सेनामा अख्तियार समेत नलाग्ने भएकाले त्यो जुक्ति अपनाइएको हुनसक्ने’ आशंका गरे । ‘सेनाले गर्ने आर्थिक चलखेलमा अख्तियारको निगरानी हुँदैन भन्ने भएर पनि त्यो बाटो रोजेको हुनसक्छ । यसको सवै कारण राजनीतिक चलखेल र हस्तक्षेप हुनसक्छ’ पोखरेलको भनाइ छ ।  

पूर्वमुख्यसचिव डा. विमल कोइराला यसरी नेपाली सेनालाई ठेक्कापट्टा र व्यापारमा इन्गेज गराउँदै जाने हो भने भोलि मुलुकको हालत पकिस्तानको जस्तै हुन सक्ने बताउँछन् । ‘यो दुर्भाग्य हो । यस्तै गर्दै जाने हो भने सेनाले आफ्नो कर्तव्य बिर्सेर व्यावसायिक मर्यादा गौण बन्दै जान्छ । खरिद–विक्री र व्यापार–व्यवसायमा सेना लाग्दा, ऊ नाफा–घाटामा केन्द्रित बन्दा उसको व्यावसायिक मर्यादाप्रति पनि प्रश्न उठ्न पुग्छ’, कोइरालाले रातोपाटीसँग भने, ‘सेनालाई औषधि खरिदको जिम्मा दिनै हुँदैन भन्ने होइन, तर सेनाको पहिलो काम राष्ट्रिय सुरक्षा प्रदान गर्ने हो । उसलाई त्यसैमा लगाउनु पर्छ ।’

उनले प्रजातान्त्रिक देशमा नागरिक नेतृत्वको सरकार सवैभन्दा बलियो हुने भन्दै सरकार आफु बलियो हुनुको साटो कमजोर बन्ने बाटोमा लागेको समेत बताए । ‘सरकार आफैले पनि औषधि उपकरण किन्न सक्थ्यो । सेनालाई गुहार्नुको साटो सरकारी अंग बाणिज्य विभाग लगायतमार्फत पनि गर्न सकिन्थ्यो तर त्यसो नगरेर सेनालाई जिम्मा दिनुभनेको आफु उम्कने प्रयास त होइन ? भन्ने प्रश्न पनि उठेको छ’, कोइरालाको भनाइ छ ।

यसअघि ओम्नी समूहसँगको औषधि खरिद सम्झौतामा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको आरोप लागेपछि सरकारले सो सम्झौता बुधबार रद्द गरेको थियो । तर सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गर्नुअघि अर्थात चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकबाटै मेडिकल सामग्रीहरु नेपाली सेनामार्फत खरिद गर्ने निर्णय गरेको बिहीबार सार्वजनिक भएको थियो । यद्यपि मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ताले भने यो निर्णय सार्वजनिक गरेका थिएनन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोपमा लागि सेनाको साहरा लिएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जी मार्फत खरिद सम्भव नहुने बताउँछन् । तर मन्त्रिपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा द्विविधा बनाएको छ । यो सबै द्विविधा कतै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंकासमेत उत्पन्न भएको छ ।’

पौडेलले सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको बताए । ‘सेनाले खरिद गर्दा अख्तियारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको छ । सबै कुरा सेनालाई दिनुपर्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘अन्य क्षेत्रप्रति किन अविश्वास सिर्जना गरिदैँ छ ? कि सेनाको सहारामा भ्रष्टाचार गर्न खोजिँदै छ यहाँ ?’

के–के दियो सरकारले सेनालाई ?

हिमतालको जोखिम न्यूनीकरण, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रूख काट्ने, कृत्रिम पोखरी बनाउने, दुर्गम क्षेत्रमा सडकको ट्रयाक खोल्नेदेखि मुलुककै रणनीतिक महत्वको काठमाडौं–तराई–मधेस जोडने फास्ट ट्रयाक निर्माणको जिम्मासमेत सेनाले पाएको  छ । त्यतिमात्रै होइन पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारीस्तरमा छलफल जारी छ ।

सेनाले भने आफूले पाएका सबैजसो कामको ठेक्का लगाएर गराउँदै आएको छ । नेपालको संविधानमा अख्तियारले संवैधानिक अंग तथा नेपाली सेनाभित्रको भ्रष्टाचारमा छानबिन गर्न नपाउने प्रावधान छ । त्यसो त सेनाले पनि यसरी जिम्मा पाएका काम आफैँ गर्दैन । ठेकेदारमार्फत नै काम गराउँछ । उसले ठेक्का प्रक्रियामा सार्वजनिक खरिद अनुगमन ऐनलगायतका कुनै कानुनी प्रक्रिया पूरा गरेको हुँदैन ।

ad

यो पनि पढौँ

काठमाडौं महानगरले दियो इलेक्ट्रीक कार किन्नेदेखि बेच्नेसम्मलाई फाइदा

कोर्पोरट आवाज डट कम

कोरोना संक्रमणको आशंकामा साढे चार हजारको नमुना परीक्षण

कोर्पोरट आवाज डट कम

विदेशबाट फर्केकाको खोजी थाल्न प्रदेश प्रहरी कार्यालयको परिपत्र

कोर्पोरट आवाज डट कम

Leave a Comment